दार्चुलास्थित महाकाली नदीमा भारतीय पक्षले नदीको धार परिवर्तन हुने गरी फेरि तटबन्ध निर्माण सुरु, नेपाल सरकार मुखदर्शक

दार्चुला: दार्चुलास्थित महाकाली नदीमा भारतीय पक्षले नदीको धार परिवर्तन हुने गरी फेरि तटबन्ध निर्माणको काम अगाडि बढाएको छ। भारतले महाकालीमा बलमिच्याइँ गर्दै नदीको धार परिवर्तन हुने गरी फेरि तटबन्ध निर्माणको काम अगाडि बढाएको हो। विरोधमा नेपाली नागरिकहरुले वारिबाट भारततर्फ ढुंगामुढा प्रहार गर्दा निर्माणमा संलग्न ४ वटा सवारीसाधनका सिसा फुटेका छन्।

महाकाली नगरपालिका–४ बांगाबगर क्षेत्रमा नदी नेपालतर्फ फर्किने गरी भारतीय पक्षले तटबन्ध निर्माणको काम गरिरहेको स्थानीयहरुले बताएका छन्।भारतीय पक्षले दादागिरी गर्दै नदी नेपालतर्फ फर्काउने गरी काम गरिरहेकोले प्रशासनलाई खबर गरेको उनीहरुले बताए। महाकाली बीचबाट बग्ने गरी भारतले काम गर्नु पर्ने स्थानीयको तर्क छ।

भारतले एकपक्षीय ढंगले नदीको धार परिवर्तन हुने गरी तटबन्ध बनाउन थाले पछि विरोध भइरहेको छ। नेपालीको विरोध पछि भारतीय पक्षले काम रोकेको छ। तटबन्ध निर्माणको क्रममा दार्चुलामा पटक पटक तनाव हुने गरेको छ । यस अघि पनि महाकाली वारि र पारीका नागरिकबीच ढुङ्गा हानाहान नै भएको थियो। यो घटनामा ७ जना नेपाली नागरिक विरुद्ध भारतमा जाहेरी नै परेको छ। भारतीय पक्षले तटबन्ध निर्माणका क्रममा विवाद भएपछि केही साता अगाडि नेपाल र भारतका स्थानीय प्रशासनबीच छलफल भएको थियो।

Loading...