आवतजावत रोकेर भेरी करिडोरमा सडक निर्माण हुदै

भेरी करिडोरअन्तर्गत जाजरकोटको रिम्नादेखि रुकुम पश्चिमको चिसापानी खण्ड बन्द हुने भएको छ । निर्माणको काम चलिरहेकाले यही पुस १० देखि ३० गतेसम्म दिनमा एक घण्टा मात्र सडक सञ्चालन हुनेछ ।

दैनिक बिहान ६ देखि मध्याह्न १२ बजेसम्म र दिउँसो १ देखि साँझ ६ बजेसम्म सडक अवरुद्ध रहने निर्माण कम्पनी यती बिल्डर्सका अध्यक्ष भीमराज केसीले जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक मध्याह्न १२ देखि १ बजेसम्म एक घण्टा भने सडक खुल्नेछ ।

त्यस्तै दैनिक बेलुका ६ देखि बिहान ६ बजेसम्म पनि सडक खुला रहने उहाँले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले पनि सूचना जारी गर्दै सडक अवरुद्ध हुने विषयमा जानकारी गराएको छ । यस अवधिमा एम्बुलेन्स, बिरामी बोकेका साधन र सुरक्षाकर्मीका सवारी साधन भने सञ्चालन हुने सूचनामा उल्लेख छ ।

भेरी करिडोरअन्तर्गत जाजरकोटको रिम्नादेखि तल्लुबगर सम्मको ४० किलोमिटर सडक स्तरोन्नतिको काम चलिरहेको छ । कालोपत्र गर्ने गरी यती बिल्डर्सले काम गरिरहेको छ । अहिले डबल कटिङको काम भइरहेको छ । जसअन्तर्गत रिम्ना–चिसापानी खण्ड बन्द हुन लागेको हो ।

यस सडकको मुख्य ठेकेदार कम्पनी श्रेष्ठ कन्स्ट्रक्सन हेटौँडा रहे पनि त्यसबाट यती बिल्डर्सले जिम्मा लिएको हो । यो जाजरकोट–डोल्पा जोड्ने सडकको एक खण्ड हो । रासस

Loading...