रबि लामिछाने र प्रचण्ड सहित चार दलको बैठक बालकोटमा जारी, कतै कांग्रेस नेतृत्वको गठबन्धन संकटमा ?
प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसबाहेक दलहरुले गठबन्धन गरेर नयाँ सरकार गठनको प्रयास थालेका छन् । नयाँ सरकार गठनमा शक्ति बाँडफाँटका विषयमा दलहरुबीच भागबन्डा नमिल्दा कांग्रेस नेतृत्वको गठबन्धन संकटमा परेको छ भने नेकपा एमालेले माओवादी केन्द्रसहित अन्य दलहरुसँग मिलेर नयाँ गठबन्धन निर्माणको प्रयास थालेको छ ।


बालुवाटारबाट बाहिरिएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल एमाले अध्यक्ष केपी ओलीको निवास बालकोट पुगेका छन् । दाहाल पुग्नुअगावै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि बालकोट पुगेका थिए । अहिले लिङ्देन निस्किएका छन् भने एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष दाहाल र रास्वपाका अध्यक्ष लामिछानेसहित शीर्ष नेताहरुबीच छलफल भइरहेको छ ।




राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम आइतबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा दाबी पेस गर्न समय दिएकी छिन् । दुई वा सोभन्दा दलहरुबीच गठबन्धन गरेर बहुमतको सरकारमा दाबी पेस गर्न दिइएको समयसीमा सकिनै लाग्दा दलहरुले प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल कांग्रेसलाई बाहिर राखेर फरक समीकरण बनाउने कसरत थालेका हुन् ।


हाल प्रतिनिधिसभा (२७३)मा सरकार गठनकालागि १३७ सिट आवश्यक पर्छ । कांग्रेस (८९) लाई बाहिर राखेर एमाले (७८), माओवादी केन्द्र (३२), राष्ट्रिय स्वतन्त्र पार्टी (२०) र राष्ट्रिय प्रजातन्त्र पार्टी (१४) मिल्दा १४४ सिट पुग्छ । कांग्रेसलाई बाहिर राखेर सरकार गठन गर्दा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालले चार दलको गठबन्धनलाई पहिलो प्राथमिकतामा राखेर सरकार निर्माणको प्रयास थालेका हुन् ।


