कैलालीको भजनीमा साइकलको भरमा सीमा गस्ती, तस्कर मोटरसाइकलमा घुईकिन्छ्न
धनगढी: इलाका प्रहरी कार्यालयको प्रहरीसँग सवारी साधनको नाममा दुई वटा साइकल मात्रै छ भन्दा पत्यार नलाग्न सक्छ । तर, यो सत्य हो । कैलालीको भजनी नगरपालिका –५ स्थित इलाका प्रहरी कार्यालय पृथ्वीपुरमा कार्यरत प्रहरीले दुई वटा साइकलको भरमा सीमाक्षेत्रमा गस्ती गर्दैआएका छन् ।


कार्यालयमा अन्य सवारी साधन नरहेकाले प्रहरीले दुई साइकलको भरमा गस्ती गर्दैआएका हुन् । यो क्षेत्रमा तस्करहरुले मोटरसाइकल प्रयोग गरेर तस्करी गर्नेगरेको बताइन्छ । तर तस्कर मोटरसाइकलमा गुड्ने क्षेत्रमा प्रहरीसँग भने सवारी साधनको नाममा दुई वटा साइकल मात्रै छ ।




पहिले एउटा मोटरसाइकल भएकोमा त्यो बिग्रेपछि अहिले प्रहरीसँग साइकल मात्रै रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । उनले तस्करहरु मोटरसाइकल चढ्ने ठाउँमा प्रहरीलाई साइकलको भरमा गस्ती गर्न समस्या रहेको बताए ।


इलाका प्रहरी कार्यालयमा २३ जना प्रहरीको दरबन्दी छ । अहिले सइको नेतृत्वमा १० जना प्रहरी कार्यरत रहेको जनाइएको छ । सवारी साधन नहुँदा प्रहरीलाई समस्या रहेकाले भन्सारबाट लिलाम हुने गाडीमध्येबाट उनीहरुलाई उपलब्ध गराउने कुरा अगाडि बढाउने प्रमुख जिल्ला अधिकारी किरण थापाले आश्वासन दिएका छन ।

