भारतसंग सीमा जोडिएको बैतडी जिल्लामा स्वास्थ्य सतर्कता अपनाउन प्रशासनको आग्रह

बैतडी: भारतसंग सीमा जोडिएको बैतडी जिल्लामा कोरोना भाइरसको संक्रमण फेरी फैलिन सक्ने भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरिएको छ । छिमेकी देशहरुमा फेरी संक्रमण बढ्दै गएकोले सीमा जोडिएको जिल्ला भएकोले सतर्कता अपनाउन आग्रह गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय बैतडीले एक सूचना जारी गर्दै छिमेकी देशहरुमा कोरोनाको नयाँ भेरियन्ट देखिएकाले नेपालमा पनि यसको जोखिम रहेकोले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेको छ ।

 

जोखिम बढेकोले स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना गर्न आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताउनुभयो ।

भीडभाड हुने स्थलमा सकभर नजान र जानै परे मास्क, सेनेटाइजरको प्रयोग गर्नुपर्नेमा प्रशासनले जोड दिएको छ । यस्तै सार्वजनिक यातायातमा यात्रा गर्दा मास्क, सेनेटाइजरको प्रयोग गर्न र भौतिक दुरी कायम राख्न आग्रह गरिएको छ ।

 

यस्तै कोभीड –१९ विरुद्ध खोपको बुस्टर मात्रा लगाउन छुट भएकाहरुले नजिकका स्वास्थ्य संस्थामा गएर खोप लगाउन समेत आग्रह गरिएको छ ।

जोखिम बढ्दै गएकोले सतर्कता सीमाक्षेत्रमा अपनाइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । भारतसंग सीमा जोडिएको झुलाघाट नाकामा यसअघि नै हेल्थ डेस्क स्थापना गरेर कोरोनाको खोप कार्ड चेकजाँच गरि मात्र वारवार गर्न दिइएको छ ।

 

बैतडीसहित सुदूरपश्चिम प्रदेशमा हालसम्म ६ लाख १८ हजार ७१४ जनाको कोरोना परीक्षण गरिएकोमा ६१ हजार ८७२ जनामा संक्रमण भइसकेको छ । संक्रमणकै कारण यस प्रदेशमा ६३५ जनाको ज्यान गइसकेको छ ।

Loading...