प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बन्ने लाइनमा डडेल्धुराका जगत पार्की

डडेल्धुराः राष्ट्रियसभा सदस्य जगतबहादुर पार्की नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा मन्त्री बन्ने सम्भावना बढेको छ। प्रचण्डले मन्त्रीपरिषद् विस्तारको गृहकार्य सुरु गरेका बेला पार्की मन्त्री बन्ने सम्भावना बढेर गएको बताइएको छ।

 

डडेल्धुराबाट राष्ट्रियसभा सदस्य बनेका पार्की माओवादीको केन्द्रीय सदस्य र प्रस्तावित पोलिटब्यूरो सदस्यसमेत हुन्। समावेशी समानुपाति प्रतिनिधित्वका आधारमा नयाँ मन्त्रीपरिषद् गठन गर्ने सोचमा रहेका प्रचण्ड पार्कीलाई मन्त्री बनाउने पक्षमा रहेको स्रोतले जनायो।

 

मन्त्रीपरिषद्मा दलित समुदायको सहभागिता गराउनका लागि पनि पार्कीलाई प्रचण्ड मन्त्री बनाउन चाहन्छन्। पार्की प्रधानमन्त्री प्रचण्ड र उपप्राधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’का विश्वासपात्राका रूपमा पनि चिनिन्छन्। सुदूरपश्चिमबाट माओवादीकाका पार्कीसँगै हरिराम चौधरी पनि मन्त्री बन्ने लाइनमा छन्। पार्की दलित र चौधरी थारु समुदायबाट हुन्।

 

थारु समुदायकै मुख्य मुद्दा उठाएर सरकारमा सहभागी हुन पुगेका नागरिक उन्मुक्तिका तर्फबाट थारु मन्त्री बन्ने सम्भावना बलियो भएको र नागरिक उन्मुक्ति र माओवादीबीच पार्टी एकताका लागि समेत पहल भइरहेको सन्दर्भममा पार्कीलाई मन्त्री बनाइएमा सुदूरपश्चिम र दलित समुदायको प्रतिनिधित्व हुने अवस्था रहने हुन्छ।

 

अर्कोतर्फ सुदूरपश्चिमका नौ जिल्लामध्ये कैलालीबाहेकका ८ वटा जिल्ला इन्चार्ज र जिल्ला समन्वय समिति संयोजकहरूले समेत पार्कीलाई नै मन्त्री बनाउन आफ्नो तर्फबाट पहल गरेको देखिन्छ। हरिराम चौधरी भने अहिले प्रदेश अध्यक्ष समेत हुन्। तर, थारु समुदायबाट नागरिक उन्मुक्ति पार्टीले मन्त्री पाउने अवस्था हुने, माओवादीका तर्फबाट पार्कीबाहेक दलित समुदायबाट अरु मन्त्री बन्ने अवस्था नरहेकोले उनी मन्त्री बन्ने सम्भावना बलियो बनेको हो।

 

यसअघि माओवादीले बाँकेबाट निर्वाचित महेश गहतराज अथकलाई देउवा सरकारमा दलित प्रतिनिधित्व गर्दैै मन्त्री बनाएको थियो। तर अहिले उनी पराजित भए। प्रत्यक्षतर्फ माओवादीबाट एकजना पनि दलित उम्मेदवार जितेका छैनन्। यो परिस्थितिमा एकातिर भूगोल र अर्कोतर्फ दलित समुदायबाट समेत प्रतिनिधित्वि हुने भएकोले पार्कीलाई मन्त्री बनाउनुपर्ने इन्चार्जहरू बताउँछन्।

 

राष्ट्रियसभा सदस्य पार्की डडेल्धुराको भित्रीमधेसमा पर्ने आलिताल गाउँपालिका–७ मेलगाँजा निवासी हुन्। गत स्थानीय निर्वाचनमा उनको गृह पालिका आलितालमा माओवादीले अध्यक्ष र उपाध्यक्षमा विजय हासिल गरेको थियो।

 

हालै सम्पन्न संघीय र प्रदेश निर्वाचनमासमेत सुदूरपश्चिम इन्चार्ज खगराज भट्टलाई प्रदेशसभामा विजयी गराउन पार्कीले महत्वपूर्ण भूमिका निभाएका थिए। पार्की संगठनात्मकरूपमा बलियो पकड भएका नेतासमेत हुन्।

Loading...