सुदूरपश्चिम प्रदेशमा आज नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संसदीय दलको नेता छनोट बैठक बस्दै


धनगढी: सुदूरपश्चिम प्रदेशमा आज नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संसदीय दलको नेता छनोट बैठक बस्दै छन । नेकपा एमालेले आज बिहान संसदीय दलको बैठक आह्वान गरेको एमाले प्रदेश सचिव तथा प्रदेश सभा सदस्य धर्मराज पाठकले जानकारी दिए । उनका अनुसार बिहान ८ बजे बस्ने बैठकले सर्वसम्मत दलको नेता छनोट गर्ने छ ।


नेकपा एमालेमा अहिले सम्म खुलेर दलको नेता दाबी गर्नेहरु देखिएका छैनन् । तर, राजेन्द्र रावल र धर्मराज पाठकलाई सम्भावित दलको नेताको रुपमा हेरिएको छ । रावल पोलिट व्युरो सदस्य हुन् भने पाठक प्रदेश सचिव हुन् ।



उता माओवादी केन्द्रले भने पहिलो चरणमा प्रदेश पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको छलफल र त्यसपछि मात्रै दलको बैठक बोलाएको छ । बिहान ८ बजे धनगढीको एक होटेलमा प्रदेश पदाधिकारी तथा केन्द्रीय सदस्यको बैठक बस्ने र त्यसपछि १ बजे संसदीय दलको कार्यालयमा संसदीय दलको बैठक बस्ने छ ।


माओवादीमा सर्वसम्मत रुपमा दलको नेता छनोट गर्न सकस हुने संकेत देखिएको छ । अहिले सम्म खगराज भट्ट र ओमविक्रम भाटले दलको नेतामा दाबी गरेका छन् । भट्ट स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज हुन् भने भाट केन्द्रीय सदस्य हुन् ।
अहिले सम्म प्रदेशमा नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादीले मात्र दलको नेता छनोट गरेको छ । यहाँ नेकपा एसको दलको नेतामा दीर्घ सोडारी र नागरिक उन्मुक्तिको नेतामा रामेश्वर चौधरी छनोट भइसकेका छन् ।



