अंग्रेजी नयाँ बर्ष सँगै नेपालमा राष्ट्रिय टोपी दिवस विविध कार्यक्रम गरी मनाईदै


राष्ट्रिय टोपी दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मेरो शान, मेरो पहिचान राष्ट्रिय पोशाक संरक्षण अभियान भन्ने नारासहित सातौँ दिवश मनाउन लागिएको हो । मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाको अगुवाईमा २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई टोपी दिवस र पौष १७ गतेलाई राष्ट्रिय पोशाक दिवसको रुपमा मनाउन सुरु गरेका थिए ।


नेपालमा मात्रै नभइ विदेशका समेत रहेका धेरै नेपालीले परम्परागत ढाका र भादगाउँले टोपी लगाएर सामाजिक सञ्जालमा तस्वीर पोस्ट गर्ने गरेका छन् । सदियौँदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यूचोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि अभियानले नेपाली ढाका टोपी, भाद्गाउँले टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गरियोस् भन्ने मागसहित सरकारलाई दबाब दिँदै आएको छ ।



दिवशका अवसरमा आज काठमाडौ उपत्यकासहित ७७ वटै जिल्लामा विशेष कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय पोशाक संरक्षण महाअभियानका अध्यक्ष राजानन्द माण्डयले जानकारी दिनुभयो ।



