कैलालीको चुरे गाउँपालिकामा विद्युत विस्तार

अत्तरिया: कैलालीको चुरे गाउँपालिका वडा नम्बर ४ बाटेगढाकी निशा राना मगरको घरमा सोलारबाट घरमा विद्युतको सहारा थियो । विद्युत नहुँदा सोलारबाटै उनले उज्यालो बनाउने सहारा लिएकी थिइन् । तर, शनिबार उनको घरमै विजुली बत्ति पुगेको छ ।

 

विजुली बत्ति पुगेपछि उनले भनिन् ‘अब हिउँदमा अन्धकारमा बस्ने बाँध्यता हट्यो ।’ गर्मि महिनामा सोलारले सहज काम गर्ने भएपनि हिउँदमा घाम नलाग्दा सोलारको पावर कमजोर हुन्छ । उनले भनिन सोलारमा व्याट्री समस्या आउँदा महँगो खर्च गर्नुपर्ने बाँध्यता रहेको बताइन् । शनिबारदेखि गाउँघरमै विद्युत पुगेपछि उनी खुशी थिइन् । उनले भनिन –‘अहिलेसम्म मोबाईल, रेडियो र घरको बत्तीहरु चार्ज गर्न पाउँथे तर, अबदेखि टिभी पनि हेर्न पाउने भएको छु ।’

 

चुरे गाउँपालिकाको सो बस्तीमा विद्युत प्रशारण लाईनको गाउँपालिका अध्यक्ष चक्र बोगटीले समुदघाटन गरे । सो अवसरमा बोल्दै अध्यक्ष बोगटीले हरेक टोल र बस्तीमा विद्युतको पहुँच गराउने गरि गाउँपालिकाले काम गरिरहेको बताए । उनले भने –‘अहिले पनि यो गाउँपालिकाका केही वस्तीहरु अन्धकारमा रहेका छन् । हामीले हरेक बस्ती उज्यालोमय बनाउने गरि काम गरिरहेका छौं ।’ नेपाल विद्युत प्राधिकरण धनगढी वितरण शाखाका प्रमुख सुर्य नारायण मण्डलले दुई वर्षभित्र कैलालीका सबै बस्ती तथा गाउँघरमा विद्युतिकरण गरिसक्ने लक्ष्य रहेको बताए । उनले शनिबार विस्तारित विद्युतिकरणको १२ औं ट्रान्सफर्मर रहेको बताए । सो वस्तीमा २०७६ सालमा विद्युतिकरणका लागि प्रयास भएको थियो ।

 

एक करोड ५६ लाखको लागतमा ओम बीरभद्र कन्स्ट्रक्सन र अमित कन्स्ट्रस्कनले सो वडाभरी विद्युतिकरण गर्ने ठेक्का पाएको छ । २०७६ सालमा बालुवागडामा विद्युतिकरण विस्तार भएको थियो भने शनिबार बाटेगडामा विद्युतिकरण विस्तार भएको छ । यस्तै गाउँपालिकाले जागती, गर्भा दरवारमा विद्युत विस्तार गर्ने तयारी गरेको छ । खडक तारामी मगरले विद्युत विस्तार भएसंगै सहज भएको बताए । उनले भने ‘विद्युत विस्तार भएपछि यहाँका विद्यार्थीलाई अध्यापनमा सहज भएको छ ।’

Loading...