मेस्सी र नेयमार नहुँदा पीएसजी टिमको लज्जास्पद हार, खेल जिताउनका लागि एम्बाप्पेको जादु चलेन


काठमाडौं: फ्रान्सेली लिग वानअन्तर्गत आइतबार राति भएको खेलमा पीएसजी लेन्ससँग पराजित भएको छ। लियोनल मेस्सी र नेयमार जुनियर नभएको खेलमा पीएसजी ३-१ ले पराजित भएको हो।


आइतबारको खेलको पाँचौं मिनेटमा नै लेन्सले अग्रता लिएको थियो। तर, आठौं मिनेटमा पीएसजीका ह्युगो एकिटिकेले खेललाई बराबरीमा ल्याए। त्यसपछि खेलको २८ औं र ४७ औं मिनेटमा गोल गर्दै लेन्सले महत्वपूर्ण तीन अंक हात पारेको हो।



जारी सिजनमा यो पीएसजीको पहिलो हार हो। हारका बाबजुद पीएसजी लिगको शीर्षस्थानमा छ। उसले १७ खेलबाट ४४ अंक हात पारेको छ। समूहको दोस्रो स्थानमा रहेको लेन्सले समान खेलबाट ४० अंक हात पारेको छ।


यसअघिको खेलमा रातो कार्ड पाएका कारण आइतबारको खेलमा नेयमार अनुपस्थित थिए भने मेस्सीले पनि यो खेल खेलेका थिएनन्। विश्वकप विजेता मेस्सी अहिले बिदा मनाइरहेका छन्।
यसैगरी इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा चेल्सीले नटिङघम फरेस्टसँग १-१ गोलको बराबरी खेलेको हो । चेल्सीले सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा बराबरी खेल्नु परेको हो ।

खेलको १६ औं मिनेटमा रहिम स्टरलिङले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ६३ औं मिनेटमा सेर्जी औरिएरले गोल गर्दै फरेस्टलाई १-१ गोलको बराबरीमा ल्याए । यस बराबरीसँगै चेल्सीले १६ खेलमा २५ अंक जोडेको छ ।
चेल्सी आठौं स्थानमा रहेको छ । फरेस्ट १४ अंक जोडेर १८ औं स्थानमा रहेको छ । यस्तै इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले टोटेनहमलाई हराएको छ ।
आइतबार राति भएको खेलमा एस्टनले टोटेनहमलाई २-० ले हराएको हो । एस्टनको जितमा ईमी बुएन्डिया र डग्लास लुइजले एक एक गोल गरे ।
खेलको ५० औं मिनेटमा बुएन्डियाले गोल गर्दै एस्टनलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७३ औं मिनेटमा लुइजले गोल गर्दै एस्टनलाई २-० को जित दिलाए ।
यस जितसँगै एस्टनले १७ खेलमा २१ अंक जोडेको छ ।एस्टन १२ औं स्थानमा रहेको छ । टोटेनहम ३० अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

