सुदूरपश्चि प्रदेशमा कांग्रेस संसदीय दलको नेता चयन गर्न सकस ! अझै एक हप्ता लाग्ने संकेत

अत्तरिया : सुदूरपश्चिमा कांग्रेस संसदीय दलको नेता चयन गर्न अझै एक हप्ता लाग्ने जनाइएको छ । संसदीय दलको नेता को बन्ने विषयमा छलफल सुरु नभएको हुँदा दलको नेता चयन गर्न अझै एक साता लाग्न सक्ने कांग्रेस प्रदेश महामन्त्री तथा प्रदेशसभा सदस्य मेघराज खड्काले बताए ।

१९ जना प्रदेशसभा सदस्य रहेको कांग्रेसमा दलको नेताका लागि ५–६ जना आंकाक्षी छन् । कांग्रेस प्रदेश महामन्त्री तथा प्रदेशसभा सदस्य खड्काले यति नै दिन भनेर तोक्न नसकिए पनि एक हप्ताभित्रै दलको नेता चयन गर्ने बताए । ‘सम्भवतः एक हप्ताभित्रै दलको नेता चयन गर्छौ । विवाद भएर रोकिएको होइन । छलफलमै छौँ,’ उनले भने । आंकाक्षी धेरै हुनु स्वाभाविक भएको बताउँदै उनले तर पनि सहमतिमै नेता चयन गर्ने दाबी गरे ।

सुदूरपश्चिम प्रदेशसभामा अहिलेसम्म नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादी, नेकपा एमाले र माओवादी केन्द्रले दलको नेता चयन गरिसकेका छन् । नेकपा एमाले दलको नेता राजेन्द्र रावल, माओवादी केन्द्रका खगराज भट्ट, नेकपा एसको दलको नेतामा दीर्घ सोडारी र नागरिक उन्मुक्तिको नेतामा रामेश्वर चौधरी छनोट भइसकेका छन् ।

 

सुदूरपश्चिममा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एसका ४, राप्रपाका १ र स्वतन्त्र १ गरी ५३ सांसद छन् ।

 

Loading...