माघी पर्वलाई मध्यनजर गर्दै कैलालीको गोदावरी धाममा तिर्थालु भक्तजनहरुका लागि तयारी तिब्र
अत्तरिया: सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी गोदावरी धाममा माघीपर्बमा तिर्थालु भक्तजनहरुका लागि तयारी तिब्र रुपले चलिरहेको छ । गोदावरीमा रहेको नदी वारीपारि जानका लागि बाटो, स्नान गर्नका लागि पानी लगायतका व्यवस्था भईरहेको हो ।


माघ १ गते लाग्ने मेलाको लागि नेपाली सेना लगायत स्थानीयहरु सक्रिए भएका हुन् । गोदावरीमा नेपालका मात्र नभएर भारतका विभिन्न शहर तथा ग्रामीण क्षेत्रहरुबाट समेत यहाँ मानिसहरु आउने गरेका छन् । गोदावरीमा घुइँचो लाग्न थालेपछि गोदावरी व्यवस्थापन समितिले प्रतिक्षालय तथा खानेपानीको व्यवस्था गरेको छ । गोदावरीमा धार्मिक स्थलमात्र नभएर मनोरञ्जनका लागि पनि विभिन्न गतिविधिहरु भइरहन्छन् ।




माघीमा विवाह, ब्रतवन्धलगायत शुभ कामका लागि झन् बढी घुइँचो लाग्ने गरेको छ । गोदावरीबाट अत्तरिया बजार ६ किलोमिटर टाढा रहेको छ । त्यहाँ विभिन्न सुविधायुक्त गेष्ट हाउस, होटलको समेत व्यवस्था रहेको छ । धार्मिक महिना माघमा दर्शालम्वीहरुलाई होटल व्यवस्थापनका लागि निकै नै समस्या हुने गरेको छ ।


आज कल पनि शनिवार या बिदाको दिनमा परिवार र साथीभाइ सहित गोदावरीमा पर्यटक आउँछन् । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीबाट गोदावरीको सडक निर्माण भएसंग पर्यटकलाई गोदावरी जान निकै नै सहज भएको छ । सुदूरपश्चिम प्रदेशको ठूलो धनगढी विमानस्थल पनि गोदावरीबाट १२ किलोमिटरको दूरीमा पर्छ । त्यसैले पनि आन्तरिक तथा बाह्य पर्यटकहरु गोदावरी जानका लागि इच्छुक हुने गर्छन् । विमानस्थलबाट गोदावरीका लागि सबैखाले साना तथा ठूला सवारीसाधन सहजै पाउन सकिन्छ ।
गोदावरी सुदूरपश्चिम प्रदेशको राजधानी पनि भएको हुँदा यसको चर्चा झनै बढेको छ । गोदावरी उकालो डाडाँको टाकुराबाट धनगढी, अत्तरिया लगायत तराईका दृष्यहरु मनोरम ढंगले दृष्यावलोकन गर्न सकिन्छ । त्यहाँबाट गोदावरीमा रहेका हनुमानको ठूलो मूर्ति, गौतम बुद्ध सुतेको मूर्ति, गणेश भगवानको मूर्ति र शिव/लक्ष्मी भगवानका मूर्तिको अवलोकन तथा दर्शन र रमणीय ताल अवलोकन गर्न सकिन्छ ।


