सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीको दाउँमा नागरिक उन्मुक्ति, कतै सत्ता गठबन्धनले नयाँ मोड लिने त हैन ?
अत्तरिया : सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व लिन सत्तारुढ गठबन्धनमा आबद्ध दलहरू दौडधुपमा चलेको छ । शपथ ग्रहणलगत्तै कांग्रेसबाहेकका दलहरूले संसदीय दलको नेता पनि चयन गरिसकेका छन् । त्यहाँ सत्ता गठबन्धनको स्पष्ट बहुमत छ । तर नेतृत्वका लागि माओवादी-एमालेसँगै नागरिक उन्मुक्ति पार्टीले पनि नेतृत्व दाबी गरेपछि दलहरूलाई मिलाउन समस्या भएको छ ।


५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार गठन गर्न २७ सांसद आवश्यक पर्छ । यहाँ माओवादीका ११, एमाले १०, नागरिक उन्मुक्ति पार्टी सात, राप्रपाबाट एक गरी २९ सांसद छन् । सजिलै सरकार गठनको बहुमत पुग्ने अवस्था भए पनि नागरिक उन्मुक्ति पार्टीले नेतृत्वको दाबी गरेपछि मिलाउन समस्या भएको छ । माओवादीले खगराज भट्टलाई दलको नेता चयन गर्दै मुख्यमन्त्रीमा अघि सारेको छ । सुदूरपश्चिममा सबैभन्दा ठुलो दल भएकाले मुख्यमन्त्री आफैँले पाउनुपर्ने माओवादीको दाबी छ ।




त्यस्तै नागरिक उन्मुक्ति पार्टीले रामेश्वर चौधरीलाई दलको नेता चयन गर्दै मुख्यमन्त्रीको दाबी गरेको छ । रेशम चौधरीको रिहाइलाई प्रमुख मुद्दा बनाएको यो पार्टी मुख्यमन्त्री नपाएको अवस्थामा आफ्नो मुद्दा सम्बोधन गर्ने दललाई समर्थन गर्ने मनस्थितिमा छ ।


एमालले राजेन्द्र रावललाई दलको नेता चयन गरेको छ । तर नेतृत्व कुन दलले गर्ने भन्ने टुंगो लागि नसकेकोले केन्द्रमा बनेको कार्यदलले नै प्याकेजमा सहमत खोज्ने एमाले नेता बताउँछन् ।
समाजवादीले दीर्घ सोडारीलाई संसदीय दलको नेता चयन गरेको छ भने कांग्रेसले अहिलेसम्म दलको नेता चयन गर्न सकेको छैन । गठबन्धनमा कुनै उथलपुथल नभएको अवस्थामा प्रतिपक्षमै बस्ने मनस्थिति कांग्रेसले बनाएको देखिन्छ । सुदूरपश्चिममा नागरिक उन्मुक्तिलाई मिलाउन सके गठबन्धनबाहेकको पनि सरकार बन्ने बहुमत छ ।


