बैतडीमा टी–१० क्रिकेट सम्पन्नः आयोजक एनआरवाइसी च्याम्पियन
बैतडी: बैतडीमा सम्पन्न १५ औं संस्करणको एनआरवाइसी टी–१० क्रिकेट प्रतियोगिताको उपाधि आयोजक एनआरवाइसी ए ले हात पारेको छ । एनआरवाइसीले गत संस्करणको विजेता कैलपाल क्रिकेट क्लब जर्गलाई ६० रनले स्तब्ध पार्दै उपाधि हात पारेको हो । जितसंगै एनआरवाइसीले गत संस्करणको फाइनलमा कैलपालसंगको हारको बदला समेत लिएको छ ।


मंगलबार सम्पन्न फाइनल खेलमा एनआवाइसीले दिएको १३३ रनको बिशाल लक्ष्य पन्छाएको कैलपालले निर्धारित १० ओभरमा ९ विकेटको क्षतीमा ७२ रन मात्रै बनाउन सक्यो । जसमा प्रदीप चन्दले सर्वाधिक ३७ रन बनाएपछि टोलीलाई जिताउन पर्याप्त भएन । एनआरवाइसीका राम चन्दले ३, कल्पेश चन्दले २ विकेट हात पारे ।




त्यसअघि दशरथचन्द नगरपालिका–११ स्थित मावि बगलेखानको मैदानमा पहिला ब्याटिङ गरेको एनआरवाइसीले कल्पेश चन्दको ४३ रनको मद्दतमा ७ विकेट गुमाउदै १३२ रन बनायो । कैलपालका प्रदीप चन्दले २ विकेट हात पारे । प्लेयर अफ द फाइनल एनआरवाइसीका कल्पेश चन्द चुनिए ।


उपाधिसंगै एनआरवासीले २५ हजार, ट्रफी र मेडल प्राप्त गर्दा उपविजेता कैलपालले १५ हजार, ट्रफी र मेडलमा चित्त बुझायो ।
यसैबीच प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी आयोजक एनआरवाइसीका राम चन्द भए । उत्कृष्ट ब्याटर कैलपालका प्रदीप चन्द,उत्कृष्ट बलर एनआरवाइसीका सन्तोश विजले, उदयीमान खेलाडी नानीगाडका किशोर पन्त,उत्कृष्ट किपर नागार्जुन सीमका नरेश चन्द,उत्कृष्ट फिल्डर एनआरवाइसीका भानबहादुर चन्द र उत्कृष्ट क्याच एनआरवाइसीका महेश चन्द चुनिए ।
खेलाडीहरुलाई दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्द,बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष बिनोदबहादुर चन्द,दशरथचन्द नगरपालिका ११ का वडाध्यक्ष जयदत्त पन्त, नागार्जुन रणसैनी युवा क्लबका अध्यक्ष ताराराम महरलगायतले पुस्कार वितरण गर्नुभयो ।
नागार्जुन रणसैनी युवा क्लब बठ्ठा (एनआरवाइसी)को आयोजनामा गत शुक्रबारदेखि प्रतियोगिता शुरु भएको थियो ।

प्रतियोगिताले क्रिकेट खेलाडी र समग्र क्रिकेटको विकास हुने आयोजक नागार्जुन रणसैनी युवा क्लबका बरिष्ठ सल्लाहकार श्यामबहादुर चन्दको विश्वास रहेको छ ।
गत संस्करणको एनआरवाइसी टी–१० क्रिकेट प्रतियोगिताको उपाधि कैलपाल क्रिकेट क्लबले जितेको थियो ।

