बिश्वचर्चित फुटबलर रोनाल्डो साउदी क्लबमा पुगेर सार्वजनिक भए , ‘यस क्लबका लागि मेरो नयाँ चुनौति हो’
साउदी अरेबियाको क्लब अल नसरले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई सार्वजनिक गर्दा स्वागतका लागि हजारौँ समर्थक स्टेडियम पुगेका थिए। घरेलु मैदान म्रसोल पार्कमा मंगलबार राति एक विशेष समारोहमा रोनाल्डोले आफूले युरोपमा सबै कुरा प्राप्त गरेको र यो नयाँ चुनौती भएको बताए।


उनले आफूलाई अन्य थुप्रै राष्ट्रको क्लबले अफर गरेको भए पनि प्रतिस्पर्धात्मक लिग भएकाले साउदी आएको बताए। उनले यो आफ्नो अन्तिम लिग नभएको समेत बताए।




कीर्तिमानी रकममा साउदी क्लब अल नासरमा आवद्ध भएका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो साउदी अरब पुगेका छन्। सन् २०२५ सम्मका लागि साउदी अरेबियाको अल नासरसँग अनुबन्ध भएका रोनाल्डो सोमबार साँझ रियाद पुगेका हुन्।


रोनाल्डोले वार्षिक १७७ मिलियन पाउण्डमा ३ वर्षका लागि क्लबमा आवद्ध भएका हुन्। उनले सन् २०२५ सम्म साउदी अरेबियाको टोली अल नासरबाट फुटबल खेल्नेछन्। यो विश्व फुटबल इतिहासमै हालसम्मको सबैभन्दा बढी पारिश्रमिक हो।
५ पटकको बालेन डि’ओर विजेता रोनाल्डोले कीर्तिमानी रकममा एसियाली क्लब भित्रिएका हुन्। साउदी प्रो लिग च्याम्पियन अल नासरले रोनाल्डोलाई अनुबन्ध गरेर आफूहरूले नयाँ इतिहास रचेको बताएको छ।

रोलान्डोलाई क्लबले एउटा सुविधा सम्पन्न लक्जरी होटलमा राखेको छ। उनले व्यक्तिगत सुरक्षाकर्मी र केही सहयोगीसमेत लिएर आएका छन्। रोनाल्डो मंगलबार स्थानीय समय अनुसार साँझ ७ बजे रियादको अल नासरको २५ हजार क्षमताको मिसुल पार्क स्टेडियममा देखा पर्नेछन्।
साउदी अरबको सबैभन्दा ठूलो शहर र देशको राजधानी रियाद पुगेपछि रोनाल्डोले आफ्नो प्रतिक्रिया दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिएका हुन्। ‘न्यानो स्वागत को लागी धन्यवाद रियाद, तपाईंलाई आज राति रंगशालामा हेर्नको लागि तत्पर छु।’
रोनाल्डोले सन् २००२ सेप्टेम्बर २९ मा स्पोर्टिङ लिस्बनका लागि ब्रागाविरुद्ध खेल्दै क्लब फुटबलमा डेब्यु गरेका थिए। रोनाल्डोले लिस्बनका लागि ३१ खेलमा ५ गोल गरेका थिए। त्यसपछि म्यानचेस्टर युनाइटेडका लागि उनले सन् २००३ देखि २००९ सम्म २ सय ९२ खेलमा १ सय १८ गोल गरे।
रियल म्याड्रिड उनको करिअरको सर्वाधिक सफल क्लबको रुपमा रह्यो। उनले सन् २००९ देखि २०१८ सम्म ४ सय ३८ खेल खेल्दै ४ सय ५० गोल गरे। युभेन्टसमा ३ सिजन बिताएका उनले १ सय ३४ खेलमा १ सय १ गोल गरे । म्यानचेस्टर युनाइटेडका लागि गत सिजन ३८ खेलमा २४ गोल गरे।
युनाइटेडसँगको समय बाँकी रहँदै उनले आपसी सहमतिमा सम्झौता तोडेका थिए । रोनाल्डो भर्खरै कतारमा भएको विश्वकपमा पोर्चुगललाई क्वार्टरफाइनलसम्म पुर्याएर फर्केका हुन्। जहाँ उनले घाना विरुद्ध आफ्नो पक्षको सुरुवाती जितमा आफ्नो स्ट्राइकको साथ पाँच फरक फिफा विश्वकपमा गोल गर्ने पहिलो व्यक्ति बनेका थिए ।


