पीएम कप छनौटः बैतडीको लगातार दोस्रो जित
बैतडीः प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट अन्र्तगत बैतडीले लगातार दोस्रो जित दर्ता गरेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा बुधबार बैतडीले डोटीलाई ७७ रनले हरायो । यसअघि मंगलबार बैतडीले अछामलाई ९० रनको पराजित गरेको थियो ।


बैतडीले दिएको १४२ रनको लक्ष्य पन्छाएको डोटीले १९ दशमलव १ ओभरमा ६४ रनमा अलआउट भयो । डोटीका लागि हिसिला खड्काले १६ र दिवेश्वरी ठकुल्लाले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । बैतडीकी करिश्मा थापाले ३, कप्तान रितु कनौजियाले २ विकेट हात पारे ।




त्यसअघि फाप्ला मैदानमा पहिला ब्याटिंग गरेको बैतडीले १९ दशमलव २ ओभरमा १४१ रनमा समेटियो । जसमा कप्तान रितु कनौजियाले २४, संगिता मौनीले अविजित १८ रन बनाईन् । डोटीकी दिवेश्वरी ठकुल्लाले ४, हिसिला खड्काले २ विकेट हात पारिन् । उक्त खेलमा प्लेयर अफ द म्यान डोटीकी दिवेश्वरी ठकुल्ला चुनिइन् ।


प्रतियोगितामा सहभागी ७ टोलीमध्ये शिर्ष दुईमा पुग्ने टोलीबीच पुस २३ गते फाइनल भिडन्त हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टले जानकारी दिनुभयो । प्रदेशस्तरिय छनौट प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेशको टोली बनाइनेछ । उक्त टोलीले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछ ।
नेपाल क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस २९ गतेदेखि इटहरीमा हुदैंछ ।


