यातायात कार्यालयमा बिचौलियाको बिगबिगी ! स्वास्थ रिपोर्ट समेत चेकजाच नगरी नक्कली बनाईन्छन

रासस/ काठमाडौं : यातायात कार्यालयको सेवा प्रवाहमा बिचौलियाको विगविगी छ। प्रहरीले विभिन्न समयमा समातेर कारबाही चलाए पनि उनीहरूको चलखेल रोकिएको छैन।

काठमाडौं उपत्यकास्थित यातायात कार्यालयमा मंगलबार गरिएको अनुसन्धानका क्रममा अनुचित र नक्कली कार्यमा बिचौलिया सक्रिय रहेको पत्ता लागेको हो।

 

यस क्रममा सेवाग्राहीलाई अनुचित रूपले प्रभावमा पार्ने पाँच र फर्जी स्वास्थ्य परीक्षण रिपोर्ट बनाउने कार्यमा संलग्न दुई गरी सात जनालाई पक्राउ गरेको रानीपोखरीस्थित काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए।

 

कार्यालय र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्तरूपमा खटिएको प्रहरी टोलीले ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय तथा काठमाडौंको ठूलो भर्‍याङ र चाबहिलबाट उनीहरूलाई पक्राउ गरेको हो।

 

उनीहरूले सेवाग्राहीलाई सहजीकरण गरिदिने, छिटोछरितो काम गरिदिने र नपुगेका कागजात पुर्‍याइदिने भन्दै ठगी गर्ने गरेको पाएको उनले बताए।

 

प्रवक्ता रिजालले कुनै पनि सरकारी कार्यालयमा नियमसंगत हुने काममा सेवाग्राहीलाई अनावश्यक हैरानी दिई नियमित काम कारबाहीलाई असर पार्ने बिचौलिया तथा समूहमाथि प्रहरीले निगरानी तथा कारबाही बढाएको बताए।

यस्तो सूचना आए प्रहरीको हटलाइन १०० र १०३ मा फोन गरी जानकारी दिन पनि प्रहरीले अनुरोध गरेको छ।

Loading...