बिद्यालय जादा झोलामा कापि किताब सँगै दाउरा अनिवार्य, नलगे हाजिरी काटिने डर

प्यूठान :  विद्यालय जाँदा झोलाभरि कापी–किताब बोक्नु नौलो होइन । यहाँको एउटा विद्यालयका छात्रछात्रा दिनहुँजसो कापी–कलमसँगै दाउरा बोक्छन् । प्यूठान नगरपालिका–८ बाटुलेस्थित जनविकास आधारभूत विद्यालयमा पढ्ने बालबालिकालाई किताबजत्तिकै दाउरा अनिवार्य छ । प्राथमिक तहका विद्यार्थी दाउरा बोकेर कक्षामा पुग्छन् ।

‘म्याडमले स्कुल आउँदा एक/एक वटा दाउरा ल्याउन भन्नुभएको छ,’ कक्षा ६ मा पढ्ने विक्रम नेपालीले भने, ‘नलगे हाजिर काटिन्छ भन्नुहुन्छ ।’

 

विद्यालयमा दिवा खाजा सुरु भएदेखि कक्षा १ देखि ६ सम्मका विद्यार्थीलाई दाउरा अनिवार्य गरिएको हो । खाजा पकाउन दाउरा चाहिन्छ । स्कुलले आफैं दाउरा व्यवस्था गरेको छैन । शिक्षकले विद्यार्थीलाई ‘दाउरा घरबाट ल्याउनू, नत्र खाजा पाक्दैन’ भनेका छन् । कतिपय शिक्षकले दाउरा नल्याए हाजिरी काटिने भनेका छन् । हाजिरी काटिने र भोकै परिने चिन्ताले झोलामा दिनहुँ दाउरा बोक्ने गरेको विद्यार्थीहरू बताउँछन् ।

रित्तो हात विद्यालय जाँदै गरेका विद्यार्थी दिपान्सु सापकोटालाई ‘खै त दाउरा ?’ भन्दा उनले हिजो नै स्कुलनजिकै लुकाएर राखेको प्रतिक्रिया दिए । ‘दिनहुँ बोक्न झन्झट हुन्छ, त्यसैले उतै लुकाएर राखेको छु,’ उनले भने । बाटोमा दाउरा भेटिएपछि त्यसलाई लुकाएर अर्को दिनका लागि राख्ने गरेको विद्यार्थीहरू सुनाउँछन् । अभिभावक दामोदर भण्डारीले बालबालिकालाई दाउरा ल्याउन लगाउनुको साटो विद्यालयले अभिभावकलाई जिम्मा दिनु उचित हुने बताए । विद्यालयले गएको कात्तिकदेखि विद्यार्थीलाई घरबाट दाउरा ल्याउन भनेको प्रधानाध्यापक तुलसा आचार्यले बताइन् ।‘स्कुलमै खाजा पकाएर खुवाउँछौं । खाजा पकाउन दाउरा चाहियो,’ उनले भनिन्, ‘सबैलाई अनिवार्य त हो तर तल्लो कक्षाकाले ल्याउँदैनन् ।’ उनका अनुसार दैनिक करिब ८० जना विद्यार्थीका लागि खाजा पकाउने त्यही दाउरा काम लाग्छ । विद्यार्थीले दाउरा ल्याए/नल्याएको तथ्यांक कक्षा शिक्षकले राख्छन् । ‘उपल्लो कक्षामा दाजु–दिदी हुनेलाई सजिलै छ । उनैले ल्याइदिन्छन्, बाँकी विद्यार्थी आफैंले दाउरा ल्याउने गरेका छन्,’ प्रधानाध्यापक आचार्यले भनिन्, ‘आइतबार विद्यालय आउँदा दाउरा ल्याउनु भन्छौं । हप्तैभरि खुरुखुरु ल्याउँछन् ।’

दिवा खाजा कार्यक्रम लागू भएका प्यूठानका केही विद्यालयका विद्यार्थीले यसैगरी घरबाट दाउरा बोकेर विद्यालय जाने गरेका छन् । विद्यालयमा दाउराको अभाव हुने र खाजा पकाउन दाउरा चाहिने भएपछि विद्यार्थीलाई घरबाट ल्याउन भन्ने गरिएको प्यूठान–९ मरेङको दुर्गा प्राविकी प्रधानाध्यापक शारदा भण्डारीले बताइन् । ‘पहिले–पहिले विद्यार्थीले मात्रै ल्याउँथे,’ उनले भनिन्, ‘अहिले त विद्यालयमा भएको एउटा रूख काटेर काम चलाएका छौं ।’ झिमरुक गाउँपालिका–१ सौतामारेस्थित जनचाहना प्राविले भने स्थानीय जंगलबाट दाउरा कटाएर ल्याउने गरेको प्रधानाध्यापक ताराप्रसाद घिमिरेले बताए । ‘स–साना विद्यार्थीलाई दाउरा बोकाउनु उपयुक्त लागेन,’ उनले भने, ‘त्यसैले विद्यालयकै स्रोतबाट जंगलमा मान्छे पठाएर दाउरा कटाउने र ल्याउने गरिएको छ ।’

प्यूठान नगरपालिकाका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद पोखरेल भने विद्यालय तहका बालबालिकालाई त्यस्ता कुनै पनि काममा लगाउन नपाइने बताउँछन् । विद्यालयमा गठित दिवा खाजा समितिले आवश्यक सबै व्यवस्था गर्नुपर्ने निर्णय रहेको उनले बताए । ‘खाजा समितिले काम गर्ने नीतिगत व्यवस्था छ,’ उनले भने, ‘विद्यार्थीलाई विद्यालय आउँदा दाउरा बोकाउनु गैरकानुनी हो । त्यसलाई तत्काल रोक्नुपर्छ ।’

यो समाचार आजको कान्तिपुरले छापेको छ ।

Loading...