कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाले छाडा पशु चौपाया संयुक्त रूपमा व्यवस्थापन गर्ने
कञ्चनपुर: कन्चनपुरका दुई स्थानीय तह कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाले छाडा पशु चौपाया संयुक्त रूपमा व्यवस्थापन गर्ने गरि छलफल अगाडि बढाएका छन् । सोमबार कृष्णपुर नगरपालिकाका नगरप्रमुख श्री हेमराज ओझाको कार्यकक्षमा साझा समस्याको रूपमा रहेको छाडा पशु चौपायालाई साझेदारीमा कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझा र लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना बिच आज छलफल भएको हो ।


छलफलमा कृष्णपुर नगरपालिकाको वडा न ३ र लालझाडी गाउँपालिकाको वडा न ५ को भु-बनोट जोडिएको र ती दुई वडामा छाडा पशु चौपाया व्यवस्थापनमा समस्या भैरहेको हुँदा दुवै स्थानीय तहले सयुंक्त रूपमा खर्च व्यहोर्ने गरी छलफल अगाडि बढेको कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले बताए । नगरप्रमुख ओझाले भौगोलिक बनावट जोडिएका दुवै स्थानीय तहबिच आपसी समन्वय गरेर मात्र छाडा पशु चौपायाको व्यवस्थापन राम्रोसँग गर्न सकिने भएकोले आफुले छलफल अगाडि बढाएको बताएका छन् । पशु चौपायाको व्यवस्थापन सँगै आगामी दिनमा विकास निर्माणदेखि अन्य कार्यमा पनि लालझाडी गाउँपालिकासँग सहकार्य गरेर अगाडि बढ्ने नगरप्रमुख ओझा बताउँछन् । हाल कृष्णपुरले वडा न १ को एक स्थान ,वडा न २ को दुई स्थान ,वडा न ४ र ५ को एक / एक स्थानमा छाडा पशु चौपायाको अस्थायी व्यवस्थापन गरिएको छ भने वडा ७,८ र ९ लाई लक्षित हुने गरि वडा न ८ मा अस्थायी गौशाला निर्माणको चरणमा रहेको छ ।




आजको उक्त छलफलमा कृष्णपुर नगरपालिकाका कार्यकारी प्रमुख शिवसिंह भण्डारी ,सूचना अधिकारी प्रेम बोगटी र कृष्णपुर नगरपालिका वडा न ३ का अध्यक्ष खेम चौधरी एवं लालझाडी गाउँपालिका वडा न ५ का अध्यक्ष पहल बहादुर थापाको पनि उपस्थिति रहेको थियो ।



