माघ २ गते देखि ९ गते सम्म गोदावरी नगरस्तरिय ‘प्याब्सन फेस्टिबल’ आयोजना गरिदै

अत्तरिया: कैलालीको अत्तरियामा गोदावरी नगरस्तरिय ‘प्याब्सन फेस्टिबल’ आयोजना गरिने भएको छ । निजी तथा आवासिय विद्याल अर्गनाइजेसन नेपाल (प्याब्सन) गोदावरी नगर कमिटीको आयोजनामा माघ २ गते देखि ९ गते सम्म ‘प्याब्सन फेस्टिबल’ आयोजना गर्न लागिएको हो ।

बिहिबार प्याब्सन गोदावरी नगर कमिटीको सचिवालयमा आयोजित पत्रकार सम्मेलमा बोल्दै नगर कमिटी अध्यक्ष श्याम बहादुर खत्रीले नगर भित्र प्याब्सनमा आवद्ध विद्यालयहरुलाई समेटेर ‘प्याब्सन फेस्टिबल’ आयोजना गर्न लागिएको बताए । उनले प्याब्सनमा आवद्ध विद्यालय बीच मैत्रीपूर्ण भावनाको विकास गर्न र विद्यार्थी भित्र रहेका प्रतिभा प्रस्फुटन गर्न फेस्टिबल आयोजना गर्न लागिएको बताए ।

उनले फेस्टिबल उद्घाटनको दिन भब्य कार्यक्रमको आयोजना गरिने बताए । ‘करिब ४ हजार विद्यार्थी सहभागि गराएर अत्तरिया बजारमा झाकी सहितको -याली निकालेर गोदावरी नगरपालिका – ३ चौकिडाँडामा रहेको लेमनग्रास खेल मैदानमा उद्घाटन गरिने छ’ उनले भने ‘उद्घाटनको दिन फुटबल प्रतियोगिताको पनि आयोजना गरिने छ ।’ फेस्टिबलको गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले उद्घाटन गर्ने कार्यक्रम रहेको उनले बताए ।

उनले फेस्टिबलमा ३ विधा अन्तरगत २६ वटा खेल खेलाईने बताए । शैक्षिक विधा अन्तरगत ८, इथलेटिक्स विधा अन्तरगत १०, आउटडोर विधा अन्तरगत ८ वटा प्रतियोगिता गरिने जनाइएको छ ।

‘प्याब्सन फेस्टिबलले समाजमा सकारात्मक धारण लिने छ’ अध्यक्ष खत्रीले भने ‘अहिले बालबालिका नै ड्रग एडिसनमा फसेर सामान नै कुरुप बन्दै गइरहेको छ । त्यसलाई रोक्न पनि यसले मदत गर्छ ।’ उनले कोरोना पछि रोकिएका खेलकुदका प्रतियोगितालाई नियमितता दिन पनि फेस्टिबल आयोजना गर्न लागिएको बताए ।

प्रतियोगिता चौकीडाँडा सामुदायिक वन भित्र रहेको लेमनग्रास खेल मैदान र चौकिडाँडा सामुदायिक भवन रहेको प्राङ्गण र कनकवा खेल मैदान र एक अन्य खेल मैदानमा संचालन गरिने आयोजनकले जनाएको छ ।

एक साता सम्म संचालन हुने फेस्टिबलमा प्याब्सनमा आवद्ध प्राथमिक, निम्न माध्यमिक र माद्यमिक तहका विद्यार्थीलाई समेटिने छ । जसमा महिला तथा पुरुषका पनि छुट्टा छुटै कार्यक्रम संचालन गरिने जनाइएको छ ।

फेस्टिबलमा विजेता खेलाडीहरुलाई प्रमाण पत्र, मेडल र सहभागि विद्यालयलाई रनिङ ट्रफि दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको संचालनका लागि प्याब्सना आवद्ध विद्यालयहरुबाट रकम उठाएर संचालन गरिने जनाइएको छ । प्रतियोगितामा ३ लाख ७५ हजार खर्च हुने अनुमान गरिएको छ ।

Loading...