आजका लागि सुदूरपश्चिम सहित थप ३ प्रदेशमा बर्षातको सम्भावना, हिमाली भेगमा हिमपात
काठमाडौं: हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ भने तराईमा हुस्सु/कुहिरो लागेको छ।


दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ।




सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। शनिबार कर्णाली, गण्डकी र प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने प्रक्षेपण गरिएको छ।




