बैतडी सहित सुदूरपश्चिममा आज “माघे संक्रान्ति पर्व”, हर्षउल्लासका साथ मनाइँदै
बैतडी:


सुदूरपश्चिमेली हरुको महान पर्व “माघे संक्रान्ति पर्व” बैतडी सहित प्रदेशभरी हर्षउल्लासका साथ मनाइँदैछ। माघे संक्रान्ति, मकर संक्रान्ति, माघी आदि नामले चिनिने सुदूरपश्चिम प्रदेशको एउटा महत्वपूर्ण चाड हो ।




सौरमासको हिसाबले माघे संक्रान्ति देखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर संक्रान्ति’ पनि भन्ने गरेको पण्डित भोजराज अवस्थीले बताउनुभयो ।


सामान्यतया सूर्यले सबै राशि लाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि(साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले मह्त्वपूर्ण मानिने र यो दिन देखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्ध तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास रहेको पनि पण्डित अवस्थीले बताउनुभयो ।
उसो त माघे/मकर संक्रान्ति पर्व नेपाल भर विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाई मनाइने गरिएको संस्कृतका जानकारहरु बताउँछन् ।
शिशिर ऋतुमा पर्ने यो संक्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु र तिल, तरुल तथा खिचडी खानाले शरीरमा गर्मीको मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छाला सम्बन्धी र अन्य रोग नाश हुने जनविश्वास रहिआएको सिगास ४ का स्थानीय जानकार राम सिंह साउदले बताउनुभयो ।
माघे संक्रान्तिको अवसरमा जलाशयहरूमा स्नान गर्नेको बिहानैदेखि घुइँचो लाग्ने गर्दछ । हिजो राति (पौष मसान्त) नै जाग्राम बसेर दर्शनार्थीले पाठपूजा गर्ने र आजको दिन पारिवारिक सदस्य, आफन्त तथा साथीभाई सँगै बसेर गएराति नै पकाइएको तरुल, चाकु, लड्डु तथा घिउ लगायतका मीठामीठा परिकार खाएर रमाइलो गर्ने चलन रहेको पनि उहाँले जानकारी दिनुभयो।

बिहान उठेर सबेरै नुहाई धुवाई गरेर, चोखो कपडा , ब्राह्मणलाई दान दक्षिणा दिइनुको साथै कतिपय घरमा त आजको दिन रुद्री या सत्यनारायण भगवानको पूजा लगाउने कार्य समेत गरिन्छ ।
माघ महिनालाइ धार्मिक महत्वका साथ धर्मको पवित्र महिना पनि मान्ने गरिन्छ ।


