प्रचण्ड नेतृत्वको सरकारमा चार जना उपप्रधानमन्त्री किन ? के सत्ता टिकाउनकै लागि हो त ?
काठमाडौं: प्रतिनिधिसभाबाट प्रधानमन्त्री प्रचण्डले प्रमुख एवं साना दलको समर्थन पाइसकेका छन् । दुई सांसद मात्रै प्रधानमन्त्रीको विपक्षमा उभिए । १ सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त प्रचण्डले विश्वासको मत लिनेबेला २ सय ६८ सांसदको समर्थन प्राप्त गरे ।


यति ठूलो समर्थन भए पनि प्रचण्डले सत्तारूढ दलका नेतालाई रिझाउन उपप्रधानमन्त्री संख्या चार पुर्याएका छन् । सेवा, सुविधा तथा मानसम्मानका लागि पनि नेताले ‘उपप्रधानमन्त्री पाउनैपर्ने’ दाबी गरेपछि प्रधानमन्त्री प्रचण्ड सोका लागि बाध्य भएका छन् ।




सरकारलाई टिकाउन तथा साना दलका अध्यक्षलाई रिझाउन उनले उपप्रधानमन्त्री संख्या बढाएपछि चर्को आलोचना भइरहेको छ । प्रधानमन्त्रीसहित मन्त्रिपरिषद् संख्या २५ हुने संवैधानिक व्यवस्था भए पनि ‘उपप्रधानमन्त्री कति हुने ?’ भन्ने खुलाइएको छैन । उपप्रधानमन्त्री बनाउनैपर्छ भन्ने पनि छैन ।


प्रचण्ड नेतृत्वको सरकारमा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, रास्वपा अध्यक्ष रवि लामिछाने र राप्रपाका राजेन्द्रप्रसाद लिङ्देन उपप्रधानमन्त्री छन् । पौडेल, श्रेष्ठ र लामिछाने गत ११ पुसमै र लिङ्देन हिजो (मंगलबार) मात्र उपप्रधानमन्त्री भएका हुन् । पौडेल र श्रेष्ठ यसअघिसमेत उपप्रधानमन्त्री भइसकेका छन् । तर, लामिछाने र लिङ्देनले पहिलोपटक मन्त्रीसहित उपप्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् ।यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

