कस्तो अचम्मैको पुरुषस्कार, उत्कृष्ट विद्यार्थीलाई मुर्रा जातको ब्याउने भैंसी पुरस्कार !

बुटवल : रूपन्देहीको मायादेवी गाउँपालिकाको सुन्डी माविले उत्कृष्ट विद्यार्थीलाई भैंसी पुरस्कार दिने गरेको छ । विद्यालयले ८ वर्षदेखि विद्यार्थीलाई उत्कृष्ट भएबापत भैंसी दिँदै आएको हो ।

 

प्रधानाध्यापक सतिशचन्द्रमणि त्रिपाठीले विपन्न विद्यार्थीलाई पढाइमा निरन्तरता दिन सहयोग होस् भनेर भैंसी पुरस्कार कार्यक्रम ल्याएको बताए । ‘विद्यालयमा लोध, हरिजनलगायतका अति विपन्न परिवारका विद्यार्थी छन् । कतिपय अभिभावकको जग्गा छैन । गरिखाने सीप छैन,’ उनले भने, ‘यस्ता अभिभावकले छोराछोरीलाई बीचमै पढाइ छुटाउँछन् । भैंसी पाएपछि त्यसको कमाइले परिवार चल्छ र छोराछोरीको पढाइ छुट्दैन ।’

 

यस वर्ष अघिल्लो बुधबार पुस्तक समीक्षा प्रतियोगिता भयो । विद्यालयको पुस्तकालयमा भएका करिब ९ हजार पुस्तकमध्ये विद्यार्थीलाई पुस्तक छान्न दिइयो । छानेको पुस्तक पढेर त्यसको समीक्षा गर्न लगाइयो । कक्षा १ देखि ३, ४ देखि ६, ७ देखि ८, कक्षा ९ र १० को छुट्टाछुट्टै समूह बनाएर समीक्षा गर्न लगाइएको थियो । पहिलो र दोस्रो हुने ८ विद्यार्थीले भैंसी उपहार पाए । ‘विद्यालयमा अभिभावकसहित भेला बोलाएर प्रत्येकलाई मुर्रा जातको ६० हजार रुपैयाँ पर्ने ब्याउने भैंसी दिइएको हो,’ प्रधानाध्यापक त्रिपाठीले भने, ‘छोराछोरी उत्कृष्ट भए बाआमा आएर भैंसी लान्छन्, अति खुसी हुन्छन् ।’

 

 

विद्यालयले भैंसी पुरस्कार दिने भएपछि अभिभावकमा पनि आफ्ना छोराछोरी उत्कृष्ट बनाउने प्रतिस्पर्धा चलेको छ ।

कान्तिपुर दैनिकबाट

Loading...