प्रतिनिधि सभामा निर्वाचित भएका सभामुखका कस्ता खाले अधिकार हुन्छन ?

नेकपा एमालेका सांसद देवराज घिमिरे प्रतिनिधिसभाको सभामुखमा निर्वाचित भएका छन्। नेपाली कांग्रेसकी उम्मेदवार ईश्वरीदेवी न्यौपानेलाई पराजित गर्दै सत्तारूढ गठबन्धनका उम्मेदवार घिमिरे बिहीवार प्रतिनिधिसभाको बहुमतबाट सभामुख छानिएका हुन्।

बैठक सञ्चालन गरिरहेका प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले घिमिरे सभामुख निर्वाचित भएको घोषणा गरे। बैठकमा २६८ सदस्य उपस्थित थिए।

घिमिरेलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावमा 

पक्षमाः १६७ मत
विपक्षमाः १०० मत
तटस्थः १ मत
यसअघि गठबन्धन दलहरूबीच प्रधानमन्त्री माओवादीबाट अनि सभामुख र राष्ट्रपति एमालेबाट बनाउने सहमति भएको नेताहरूले बताएका थिए।

घिमिरेलाई सभामुख बनाउने पूर्वसभामुख सुवास नेम्वाङको प्रस्तावमा माओवादी केन्द्रका हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले समर्थन गरेका थिए।

यसअघि गठबन्धनको समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले सभामुखमा भने आफ्नै उम्मेदवार अघि सारेको हो। कांग्रेस उम्मेदवार न्यौपानेको पक्षमा नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वालाले समर्थन जनाएका थिए।

 

सभामुख निर्वाचित देवराज घिमिरे को हुन्

राष्ट्रिय राजनीतिमा धेरै चर्चित नाम नभए पनि घिमिरे पुराना कम्युनिस्ट नेता हुन्। उनी नेकपा एमालेको स्थायी समिति सदस्य छन्।

पूर्वसभामुख नेम्वाङले प्रतिनिधिसभाको बैठकमा सभामुखमा प्रस्ताव गर्दै घिमिरेलाई “लामो समय भूमिगतकालदेखि लिएर निरङ्कुशता विरुद्धका आन्दोलनमा खटिएका” नेताको रूपमा परिचय गराए।

 

घिमिरे एमाले अध्यक्ष केपी ओलीको गृहजिल्ला झापाबाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन्।

 

सभामुखको अधिकार कति हुन्छ
प्रतिनिधिसभाको नेतृत्व गर्ने सभामुखको भूमिका सदनमा मात्रै सीमित छैन।

संविधानअनुसार विभिन्न संवैधानिक आयोगहरूमा हुने नियुक्तिहरूमा सिफारिस गर्ने संवैधानिक परिषद्को पनि सदस्यमा पनि सभामुख रहने व्यवस्था छ।

सभामुखले राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त र आयुक्तहरू नियुक्तिको सिफारिस गर्ने समितिको पनि नेतृत्व गर्छन्।
संविधानले राष्ट्रपति र उपराष्ट्रपति दुवैको पद रिक्त भएको अवस्थामा सभामुखले राष्ट्रपतिको काम गर्न सक्ने अधिकार दिएको छ।

हरेक प्रतिनिधिसभा बैठकको कार्यसूची बनाउने, संसद्‌मा दर्ता भएका प्रस्तावहरू अघि बढाउने वा नबढाउने लगायतका काम कारबाहीमा पनि सभामुखलाई भूमिका दिइएको छ।

पूर्वसभामुख तारानाथ रानाभाट सभामुखसँग असीमित अधिकार रहने बताउँछन्।

“सभामुखसँग साँच्चिकै असीमित अधिकार हुन्छ। संसद्‌बाट सरकारलाई निर्देशन दिने अधिकारसँगै जनताका पक्षमा काम गर्ने पनि ठाउँ हुन्छ,” उनले भने।

बिबीसी नेपाली बाट

Loading...