धनगढीमा आजबाट सुरु भएको डीसीए कपमा ऐश्वर्य र कैलाली मोडल को बिजयी सुरुवात

धनगढी: ऐश्वर्य विद्या निकेतन र कैलाली मोडल स्कुलले धनगढीमा आजबाट सुरु भएको दीपेन्द्र स्वाँर स्मृति डीसीए कप स्कुलस्तरीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।फाप्ला क्रिकेट मैदानमा बिहीबार भएको उद्घाटन खेलमा ऐश्वर्यले एरिस्टो इङ्लिस बोर्डिङ स्कुल र कैलाली मोडेलले विद्याभुषण स्कुललाई पराजित गर्दै विजयी सुरुवात गरेका हुन् ।

 

बिहान भएको खेलमा ऐश्वर्यले दिएको ११३ रनको लक्ष्य पछ्याएको एरिस्टाले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ६२ रनमात्रै बनाउन सक्यो ।एरिस्टोका किरण देउवाले ९, विशाल खडायतले २, आसिम आग्रीले ६, पवन बोहराले ११, कुशल शाहीले ६ र सन्देश गिरीले ६ रन जोडे ।ऐश्वर्यका पर्वत मलासीले ४ तथा सुरेन्द्र धामीले २ विकेट लिए ।

 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ऐश्वर्यले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११२ रन बनाएको थियो ।ऐश्वर्यका परागंत मुडभरीले २८, सागर लोथ्यालले १५, दीपेश चदाराले ८ र अनुजसिंह धामीले ९ रन जोडे । एरिस्टोका निर्मल सिंह र किरण देउवाले दुई दुई विकेट लिए । खेलको म्यान अफ द म्याच ऐश्वर्यका पर्वत मलासी घोषित भए ।  यस्तै दिउँसो भएको अर्को खेलमा कैलाली मोडेलले विद्याभुषण पब्लिक स्कुलमाथि १० विकेटको जित हात पारेको छ ।

 

विद्याभुषणले ८ ओभरमा सबै विकेट गुमाएर ३० रन बनाएको थियो । जवाफमा ३.५ ओभरमा विना विकेटको क्षमितमा कैलाली मोडेलले लक्ष्य हासिल गर्यो । कैलाली मोडलका अनिल सिंह ऐरी म्यान अफ द म्याच चुनिए ।माघ १६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ५० हजार तथा उपविजेताले ३० हजार पाउनेछ ।

 

यस्तै प्लेयर अफ द टुर्नामेन्टले ५ हजार नगदसहित डीसीएमा ४ महिनाको छात्रवृत्तिमा क्रिकेट सिक्न पाउने डिसीएका व्यवस्थापक समुयल न्यौपानेले बताए ।त्यसबाहेक वेस्ट बलर र बेस्ट ब्याटरले ३/३ हजार नगद र ३ महिनाको छात्रवृत्ति पाउने छन् ।

 

डीसीएका पुर्व खेलाडी समेत रहेका दीपेन्द्र स्वाँरको सडक दुर्घटनामा निधन भएको थियो । आफ्नो छोराका स्मृतिमा परिवारले हरेक वर्ष उनको स्मृतिमा क्रिकेट प्रतियोगिता गर्दै आएको छ । प्रतियोगितालाई एसपीए कलेज, गुरुकुल एकेडेमी, गुरुजी सपिङ एण्ट सुटिङ, सिभिल बैंक, नवजीवन हस्पिटल तथा सौराई स्वायरलगायतले प्रायोजन गरि सहयोग गरेका छन् ।

Loading...