शीर्षक : म बबुरो पत्रकार !
जताततै सुन्छु देख्छु भ्रष्टाचारको जालो
मान्छे किन लिप्त भयो कमाउन धन कालो
म बबुरो पत्रकार !
गर्न के नै सक्थे र सुधार ?


लेख्नसक्छु भ्रष्टहरुको कथा समाचार
लेख्नैपर्छ ईमानदारको कथा समाचार




जात, लिंग, वर्ग, वर्ण विभेद हटाउन
लडाइँ जरुर लड्नैपर्छ, हिंसा घटाउन
म बबुरो पत्रकार !
गर्न के नै सक्थे र उद्दार ?


लेख्नसक्छु पीडितको कथा समाचार
लेख्नैपर्छ अत्याचारको कथा समाचार
सानालाई ऐन यहाँ ठुलालाई चैन
सुशासन र प्रशासन चुस्त द्रुस्त छैन
म बबुरो पत्रकार !
लेख्न के नै सक्थे दमदार ?

लेख्नसक्छु कुशासनको कथा समाचार
लेख्नैपर्छ अख्तियारको कथा समाचार
चामल अभाव, नुन, सिटामोल सबै लेख्नुपर्छ
कति देखें कथाहरु, कति देख्नुपर्छ
म बबुरो पत्रकार !
गर्न के नै सक्थे उपकार ?
लेख्नसक्छु अभावको कथा समाचार
लेख्नैपर्छ दवावको कथा समाचार
राम्रो लेखे भन्दा रैछ्न पैसा खाएर होला
नराम्रो लेखे लाग्ने आरोप नपाएर होला
म बबुरो पत्रकार !
मेरो पेशा लाग्दैन पट्यार !
जहाँ हुन्छ अन्याय अनि अत्याचार
मेरो कलम विरुद्धमा लेख्छ समाचार
खास पत्रकार मोफसलका कथा लेख्नेहरु
तर हाइलाइट तिनै कथा बाइलाइन ठोक्नेहरु
म बबुरो पत्रकार !
गर्छु कालो पर्दाको उघार
समाचार भित्रै पनि देख्छु समाचार
पत्रकारले पत्रकारकै लेख्छु समाचार
भत्काउन गाह्राे रैछ व्यथितिको चाङ
कथा लेखी चढ्नै गाह्रो प्रगतिको भर्याङ्
म बबुरो पत्रकार !
गर्न के नै सक्थे चमत्कार ?
लेख्नसक्छु सफलताको कथा समाचार
लेख्नैपर्छ व्यथितिको कथा समाचार
छोड्ने छैन मेरो कलम स-साना केशलाई
डग्मगाउन्न सत्य लेख्न सुधार्न देशलाई
म बबुरो पत्रकार !
गर्न के नै सक्थे र प्रहार ?
लेख्नसक्छु तस्करको कथा समाचार
लेख्नैपर्छ व्यथितिको कथा समाचार
झलक पाली ‘झरना’
रचना मिति : २०७९/१०/०६
समय : बिहान ३:१५ बजेदेखि ३:५५ बजेसम्म
स्थान : सिलगढी, डोटी

