विश्चचर्चित फुटबलर मेसी र रोनाल्डो बिचको मैत्री पुर्ण खेलमा गोलको बर्षा सँगै पीएसजीको रोमाञ्चक जित

काठमाडौं: मैत्रीपूर्ण खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)ले साउदी अरबको रियाद अल स्टार्स ११ लाई ५–४ गोलको नतिजामा पराजित गरेको छ । सम्भवत सक्रिय खेल जिवनमा अन्तिम पटक एकअर्का विरुद्ध खेलेका लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डो दुवैले यस खेलमा गोल गरे । रोनाल्डोले दुई गोल गरे भने मेसीको नाममा एक गोल रहयो । मेसीले खेलको दोस्रो मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।

 

खेलको ३१औं मिनेटमा पीएसजीका गोलकिपर किलोर नाभासले रियाद ११ का कप्तान रोनाल्डोलाई १८ यार्ड बक्सभित्र फाउल गरेपछि पाएकाे पेनाल्टीलाई सदुपयोग गर्दै रोनाल्डोले ३४औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।लेफ्ट ब्याक जुवान बर्नाटले ३९औं मिनेटमा रातोकार्ड पाएपछि पीएसजी १० खेलाडीमा सिमित भएको थियो । किलियन एम्बाप्पेको क्रसमा गोल गर्दै मार्किन्योसले खेलको ४२औं मिनेटमा पुनः पीएसजीलाई अग्रता दिलाएका थिए ।

 

पहिलो हाफको इन्जुरी समयमा नेइमार पेनाल्टीमा चुक्दा पीएसजीले अगता फराकिलो पार्ने अवसर खेर फालेको थियो । पहिलो हाफको इन्जुरी समयमै रोनाल्डोले पुनः बराबरी गोल फर्काउँदै खेललाई २–२ को स्थितिमा ल्याएका थिए ।सर्जियो रामोसले ५३औं मिनेटमा गोल गदै पीएसजीलाई ३–२ को अग्रता दिलाए । त्यसको तीन मिनेट नबित्दै रियाद ११ का हेयोन सो जाङले गोल गर्दै खेललाई ३–३ को बराबरीमा ल्याए ।

 

एम्बाप्पेले ६०औं मिनेटमा पेनाल्टी मार्फत पीएसजीका लागि चौथो गोल गरे । हुगो इकिटिकीले ७८औं मिनेटमा गोल गर्दै पीएसजीको अग्रता ५–३ बनाएका थिए ।रियाद ११ का एन्डर्सन टालिस्काले खेलको इन्जुरी समयमा गोल गर्दै खेललाई ५–४ को स्थितीमा ल्याएका थिए । त्यसपछि थप गोल हुन सकेन । पीएसजीले लिएको अग्रतालाई बचाई राख्यो र ५–४ को नतिजामा जित निकाल्यो । रोनाल्डो म्यान अफ द म्याच चुनिए।

Loading...