बाजुराको उच्च पहाडी तथा हिमाली भेगमा वर्षासँगै हिमपात

बाजुरा: पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बाजुरामा हिमपात भएको छ । जिल्लाको पूर्वीउत्तरी भेगका हिमाली भेगमा वर्षासँगै हिमपात शुरू भएको हो । पूर्वीउत्तरी भेगको ४ पालिका र बडीमालिका, बूढीनन्दालगायत पर्यटकीय क्षेत्रमा हिमपात भइरहेको छ । बिहीवारदेखि मौसम बदलीसँगै चिसो बढ्न थालेपछि जिल्लाको जनजीवन प्रभावित बन्दै गएको छ । वर्षासँगै हावाहुरीसमेत चल्न थालेको छ ।

चिसो बढेपछि स्थानीय आगो ताप्न थालेका छन् । मौसम बदलीका कारण जिल्लाको तापक्रम २ डिग्री सेल्सियसमा झरेको छ । चिसो बढेपछि स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्न थालेको छ । हिमपात हुन लागेपछि कृषक खुशी भएका छन् ।

वर्षाका कारण लगाएको खेती सुकेर जान थालेको बेला पानी परेपछि किसानलाई राहत पुगेको छ । खेतबारीमा लगाएको गहुँखेती सुकेर जान लागेको अवस्थामा पानी पर्न थालेकाले गहुँखेती राम्रो हुने भएको छ ।

जिल्लाको पूर्वीउत्तरी भेगका हिमाली, स्वामीकात्तिक, जगन्नाथ गाउँपालिका र बूढीनन्दा नगरपालिकाका उच्च भागमा हिमपात भएको छ । हिमपातका कारण मार्तडी–कोल्टी सडकमा पर्ने पोरखे लेकमा पनि हिमपात भएको छ । हिमपातका कारण यहाँ चल्ने सवारीसाधनलाई आवतजावत गर्न समस्या भएको छ ।

जल तथा मौसम महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णालीका १ वा २ स्थानमा हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका १ वा २ स्थानमा हल्का हिमपातको आकलन गरिएको छ । राति सुदूरपश्चिम र कर्णालीका १ वा २ स्थानमा हल्का वर्षाको प्रक्षेपण गरिएको छ ।

Loading...