कैलालीको गोदावरीमा शिक्षकले तलब नपाएको भन्दै गोदावरीका करार शिक्षक द्वारा नगरपालिका घेराउ
गोदावरी नगरपालिकाले चार महिनादेखि यहाँ कार्यरत शिक्षकलाई तलब दिन सकेको छैन । चार महिनादेखि तलब नपाउँदा यहाँका शिक्षक आन्दोलित बनेका छन् ।


शुक्रबार दिउँसो गोदावरी नगरपालिकाका शिक्षकहरु आफ्नो चार महिनादेखिको तलबको माग गर्दै नगरपालिकामै पुगे । उनीहरुले नगरपालिका अगाडि कालो व्यानर बोकेर नाराबाजी गर्दै आफूहरुलाई चाँडोभन्दा चाँडो तलब दिनुपर्ने माग अगाडि सारेका हुन् ।




नेपाल राष्ट्रिय शिक्षक संगठन, एकीकृत अखिल नेपाल शिक्षक संगठन, गोदावरी नगर शिक्षक समिति, नेपाल राहत शिक्षक समितिको संयुक्त आयोजनामा शुक्रबार दिउँसो नगरपालिकाको कार्यालय अगाडि आएर धर्ना दिँदै विरोध गरेका छन् । विरोध कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय शिक्षक संगठनका नगर अध्यक्ष नरेन्द्रराज शर्माले पटक–पटक तलब नपाएको बिषय नगरप्रमुखलाई राख्न खोज्दा भेट्न समेत नपाएको बताए । ‘हामीले किन तलब पाएनौ भन्दा नगरप्रमुखले हाम्रा कुरा सुन्नु भएन । नगरप्रमुखले हामीलाई भेट्न नचाहेपछि हामीले खुला पत्र लेखेका थियौ । तर, पनि हाम्रो सुनुवाई भएन । त्यसैले आज हामी पुनः नगरपालिकालाई झकझकाउन यहीँ आइपुगेका छौँ ।’


यसअघि हरेक महिनामा पाउने तलब कात्तिक महिनादेखि भने नपाएको राष्ट्रिय माध्यमिक विद्यालय बल्मीका शिक्षक दशरथ ओझाले बताए । उनले भने,‘हामीले विगत चार महिनादेखि तलब खान पाएका छैनौ । हामीले हाम्रो पारिश्रमिक माग्न अहिले नगरपालिकामै पुगेका छौँ ।’ नगरपालिकाको लापर्वाहीका कारण अहिलेसम्म शिक्षकले तलब पाउन नसकेको बताउँदै उनले भने,‘महिनैपिच्छे दिनुपर्ने तलब चार चार महिनासम्म पनि नपाउँदा घरपरिवार चलाउन शिक्षकहरुलाई गाह्रो भइरहेको छ । यसतर्फ नगरपालिकाको ध्यान जाओस् ।’ गोदावरी नगरपालिकामा स्थायी शिक्षक, राहत शिक्षक, निजी स्रोत शिक्षक, बाल बिकास शिक्षक, नगर शिक्षक लगायतका शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् ।


