पूर्वकप्तान सन्दीप लामिछानेले नयाँ घोषणा गरे

काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले नयाँ घोषणा गरेका छन्। नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले क्रिकेट छोड्ने संकेत गरेका हुन्। उनले आफ्नो सामाजिक सञ्जाल ट्वीटरको बायोमा ‘इन्ड अफ स्टोरी हिअर’ अर्थात् ‘र, कथा यहाँ अन्त्य हुन्छ’ राखेका छन्। राष्ट्रिय क्रिकेट खेलाडी राखेको स्थानमा उनले बायो परिवर्तन गरेका हुन्।

 

लामो समय नेपाली क्रिकेटमा योगदान गरेका सन्दीपले अहिले क्रिकेट नै छोड्ने मनसाय बनाएको देखिन्छ। बिहीबार मात्र क्यानले सन्दीपलाई राष्ट्रिय टोलीमा बोलाउन कुनै योजना नभएको बताएको थियो। यसका साथै राष्ट्रिय टिमका केही खेलाडीहरुलाई इन्स्टाग्राम अनफलो गरेका छन्।अहिलेको बायोले उनी क्रिकेटबाटै बिदा हुने निष्कर्षमा पुगेको भनेर पनि कतिपयले अड्कलवाजी गरिरहेका छन्। तर, निकट स्रोतका अनुसार त्यो सत्य होइन। सन्दीप अझै पनि राष्ट्रिय टिममा फर्किएर क्रिकेट खेल्न लालायित छन्।

 

सन्दीपले राष्ट्रिय टिममा पुनरागमनबारे नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दसँग कुराकानी गरेका थिए। उनी क्रिकेट मैदानमा समेत पुगेका थिए। अध्यक्ष चन्दले स्पष्ट जवाफ नदिएपछि सन्दीप केही निराश बनेको स्रोतको भनाइ छ।सन्दीपले राष्ट्रिय टिमका पूर्वउपकप्तान दिपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेललगायतलाई इन्स्टाग्राम अनफलो गरेका छन्। बलात्कार आरोपमा आफू जेल पर्दा साथी खेलाडीहरुले कुनै पनि तरिकाबाट बचाउमा नबोलेको र नलेखेको भनि उनी असन्तुष्ट थिए। पछिल्ला दिनमा केही क्रिकेटरले उनको पक्षमा लेखेका छन्। ती क्रिकेटरलाई सन्दीपले अनफलो गरेका छैनन्।

 

पूर्वकप्तान ज्ञानेन्द्र मल्लसित सन्दीपको पहिल्यैदेखि शीतयुद्ध थियो। क्यानले ज्ञानेन्द्रलाई कप्तानबाट हटाएर सन्दीपलाई कप्तान बनाएको थियो। यसैगरी अर्का पूर्वकप्तान पारस खड्कासँग पनि सन्दीपको सुमधुर सम्वन्ध छैन। पछिल्लो समय ज्ञानेन्द्र र पारसलाई उनले फलो गरेका छैनन्।

 

Loading...