प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिमलाई
प्रदेश–१ लाई ६ विकेटले पराजित
काठमाडौँ: सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । इटहरीमा शनिबार भएको फाइनलमा प्रदेश- १ लाई ६ विकेटले हराउँदै सुदूरपश्चिम च्याम्पियन बनेको हो । उपाधिसँगै सुदूरले ५ लाख र उपविजेता प्रदेश-१ ले ३ लाख रूपैयाँ प्राप्त गरेका छन् ।


प्रदेश-१ ले दिएको १ सय २ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदूरले १९ ओभर ५ बलमा १०२ रन जोड्दै लक्ष्य पूरा गर्यो । सुदूरको जितमा सम्झना खड्काले अविजित २७ रन जोडिन् । कविता जोशी १९ रनमा अविजित रहिन् ।डोली भट्टले २२ तथा कविता कुँवरले १२ रन जोडिन । प्रदेश-१ का लागि सबनम राई, संगीता राई, रुवीना क्षेत्री र हिरान्मायी रोयले १/१ विकेट लिए ।




सुदूरपश्चिमलाई जितका लागि अन्तिम ओभरमा ८ रन आवश्यक थियो । प्रदेश १ कि कप्तान रुविना क्षेत्रीलाई अन्तिम ओभरको दोस्रो बलमा कविता कुँवरले छक्का प्रहार गरेपछि सुदूरपश्चिमले जितेको हो । सुरुवात राम्रो गनै नसकेको सुदूरपश्चिमको इनिङ्स मध्यक्रमका सम्झना खड्का र डली भट्टले संहालेका थिए ।


जनता क्रिकेट पार्क क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको प्रदेश-१ ले २० ओभरमा ५ विकेट गुमाएर १ सय १ रन बनाएको थियो । प्रदेश-१ का लागि काजल श्रेष्ठले अविजित ४८ रन जोडिन । यस्तै अप्सरी बेगमले १५ रन जोड्दा कप्तान रुवीना क्षेत्रीले १४ रन जोडिन ।
त्यसपछिका ब्याटरहरुले राम्रो प्रदर्शन गर्न सकेनन् । काजल ४८ रनमा अविजित रहिन् । उनले ६३ बल खेलेर ८ चौका प्रहार गरिन् । प्रदेश १ ले १५ अतिरिक्त रन पाएको थियो । बलिङमा सुदूरपश्चिमकी मनिषा चौधरीले २ विकेट लिइन् । श्रतु कनोजियाले १ विकेट लिइन् । प्रदेश १ का दुई ब्याटर रनआउट भएका थिए ।


