९३ बर्षको उमेरमा अन्तरीक्षयात्री एड्रिन गरे चौथो विवाह
काठमाडौँ: विश्व प्रसिद्ध अन्तरीक्ष यात्री बज एड्रिनले ९३ औं जन्मदिनको अवसरमा चौथो विवाह गरेका छन् । लामो समयदेखि प्रेमिका रहेकी एन्क फाउरसँग उनीले विवाह गरेका हुन् । फाउर ६३ वर्षको छिन्।


एड्रिन निल आर्मस्ट्रङसँगै चन्द्रमा अवतरण गर्ने दोस्रो व्यक्ति हुन् । अमेरिकी सञ्चार माध्यमहरुले सानो निजी समारोहमा एड्रिनको विवाह भएको जनाएका छन् । एड्रिनले यसअघि तीन जनासँग विवाह गरिसकेका थिए ।तर उनीहरूसँग पारपाचुके भइसकेको छ ।




उनीहरूबाट एड्रिनका तीन सन्तान छन् । विवाहको बारेमा ट्विट गर्दै उनले आफू किशोर अवस्थामा पुगेको भन्दै किशोर प्रेमीको जस्तै अनुभव भएको बताएका छन् ।


एड्रिन सन् १९६९ मा एपोलो इलाभेन यानमा चन्द्रमा पुगेका थिए। आर्मस्ट्रङसँग चन्द्रमा पाइला टेकेका उनी १९७१ मा अन्तरीक्षयात्रीबाट सेवानिवृत हुनुअघि १२ दिन अन्तरीक्षमा बिताएका थिए । एजेन्सी/ कान्तिपुर बाट


