कैलालीको अत्तरियामा जारी महोत्सवको समापन
सेना र प्रहरीले नगरको बाधक नबनीदिन मेयर भट्टको आग्रह


अत्तरिया : सुदुरपश्चिम प्रादेशिक महोत्सवको सातौ संस्करण सकिएको छ । अत्तरिया उधोग बाणिज्य संघद्धारा सञ्चालित सुदुरपश्चिम प्रादेशिक महोत्सवको सातौ संस्करण सोमबार सकिएको हो। संघका अध्यक्ष अशोकराज देवकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट प्रमुख अतिथी रहनु भएको थियो ।


समापन कार्यक्रममा बोल्दै मेयर भट्टले अत्तरिया क्षेत्रमा खुला मञ्च र खेलकुद मैदानको आवश्यकता रहेको बताए । उनले अत्तरियामा मेला महोत्सव र सार्वजनिक कार्यक्रम संचालनका लागि खुला मञ्च नहुदाँ समस्या भएको बताए । अत्तरियामा भएको खुला ठाउँ लगायत बसपार्क क्षेत्र, खेल मैदान, दुर्गालक्ष्मी बहुमुखि क्याम्पस जाने बाटो नेपाली सेना र सशत्र प्रहरीले भोगचलनमा लिएकाले झनै समस्या भएको बताए । उनले राजधानी क्षेत्र भएकाले यस क्षेत्रमा क्षेत्रिय स्तरको बसपार्क, खेलमैदान आवश्यक रहेको बताए । उनले अत्तरिया क्षेत्रका व्यवसायीहरुले नगरपालिकामा व्यवसाय दर्ता नगरी बढेको भन्दै आगामी दिनमा सबैलाई दर्ता गर्न आग्रह गरे ।



संघका अध्यक्ष देबकोटाले महोत्सब सफल पार्ने सबैलाई धन्यबाद ज्ञापन गरेका थिए । उनले निकै मिहेनत गरेर महोत्सब लगाउने प्रयास गरिएपनी महोत्सब स्थल ब्यबस्थित नहुँदा समस्या झेल्नुपरेको दुखेसो पोखे । महोत्सब स्थल नेपाली सेनाको भोगाधिकार भित्र परेकाले शुरुमा अनुमती लिन गार्हो भएको बताए ।


उनले अबका दिनमा भने निकै चुनौती रहेको बताए । उक्त कुरामा सबैको ध्यान जान पनि जरुरी रहेको अध्यक्ष देवकोटाले बताए । ‘हामीले अहिले लगाएको महोत्सब स्थल नेपाली सेनाको भोगाधिकार भित्र परेको रहेछ, शुरुमा अनुमती लिन नै गार्हो भयो । ढिलो गरेर हामीले तयारी गरेका थियौं ।’ उनले भने ‘अबका दिन झनै चुनौती छ । हाम्रो भबन पनि शशस्त्र प्रहरीको जग्गामा परेको भन्ने छ त्यसैले अब ठाउँको अभाब हुने देखिएको छ त्यसैले यसमा सबैको ध्यान पुगोस् ।’
यस्तै कार्यक्रममा महोत्सब सञ्चालन अवधिभर सफल पार्न सहयोग गरेको भन्दै बिभिन्न संघसंस्था र ब्यक्तिहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । उक्त कार्यक्रममा बिभिन्न जिल्लाका बाणिज्य संघका अध्यक्ष एबम प्रतिनिधी, यस क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

आज सम्पन्न महोत्सवमा देउडा गायक भोजराज भट्ट र लोकदोहोरी गायिका कल्पना दाहाल लगायतका कलाकारहरुले प्रस्तुती राखेका थिए । अत्तरियाको लामिताल परिसरमा १३ दिन सम्म सञ्चालन भएको सुदुरपश्चिम प्रादेशिक महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो ।
समृद्ध प्रदेशको आधार, कृषि पर्यटन र ब्यापार भन्ने मुल नाराका साथ २०७२ सालबाट महोत्सव सञ्चालन हुदै आएको छ । कोरोनाका कारण २०७६ र २०७७ सालमा सुदूरपश्चिम प्रादेशिक महोत्सव रोकिएको थियो ।

