सुदूरपश्चिम प्रदेशमा रहेका समानुपातिक तर्फका उम्मेदवारहरुकले गरे खर्च विवरण सार्वजनिक


धनगढीः प्रदेश सभा निर्वाचन २०७९ अन्तर्गत सुदूरपश्चिम प्रदेश सभा सदस्यका लागि समानुपातिक तर्फका उम्मेदवारले गरेको खर्च विवरण सार्वजनिक भएको छ। मंसिर ४ गते सम्पन्न प्रदेश सभा निर्वाचनका क्रममा समानुपातिकबाट निर्वाचित प्रदेश सभा सदस्यहरुको निर्वाचन आयोगमा बुझाइएको खर्च विवरण सार्वजनिक भएको हो।


निर्वाचन आयोगले समानुपातिकतर्फ तोकेको खर्च सीमाभित्रै सबै दलका समानुपातिक सदस्यको खर्च विवरणमा उल्लेख छ। यस प्रदेशमा ३४ दलहरुबाट समानुपातिक उम्मेदवार रहेका थिए। प्रदेशमा नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेपाली कांग्रेस बीपी, मौलिक जरोकिलो पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल समानुपातिकतर्फ बन्द सूचिका २१/२१ जना उम्मेदवार संख्या थिए। यी उम्मेदवारले ३१ लाख ५० हजार रुपैयाँ निर्वाचनमा खर्च गर्न पाउने सीमा तोकिएको थियो।



यसमध्ये नेकपा माओवादी केन्द्रका उम्मेदवारले २० लाख ९९ हजार २५६, नेकपा एमालेका उम्मेदवारले २४ लाख ६९ हजार ८५४, नेपाली कांग्रेस बीपीका उम्मेदवारले ४ लाख ३४ हजार, राष्ट्रिय प्रजातन्त्र पार्टीका उममेदवारले २० लाख २० हजार, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका उम्मेदवारले १ लाख २० हजार रुपैयाँ खर्च गरेको विवरण बुझाएको छ। समानुपातिकतर्फ आयोगको बन्द सूचीमा नेपालीका कांग्रेसका २० जना उम्मेदवार रहेका थिए।


३० लाख रुपैयाँ खर्च सीमा तोकिएको सो पार्टीका समानुपातिक सदस्यले निर्वाचनमा २२ लाख १२ हजार १२ रुपैयाँ खर्च भएको विवरण पेस गरेको छ। यस्तै, नेकपा एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीले आयोगलाई १९र१९ जना उम्मेदवारको बन्दसूची पेस गरेका थिए। २८ लाख ४० हजार रकम खर्च सीमा कायम गरेकोमा नेकपा एसका प्रदेश सभा सदस्यका उम्मेदवारले २७ लाख ६५ हजार ७५० र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले ५ लाख ८ हजार ८७५ रुपैयाँ खर्च गरेको विवरणमा उल्लेख छ।

