बझाङमा भूकम्पले दर्जनौं घर भत्किए,भूकम्पपछि सुरक्षित स्थानतर्फ भाग्न खोज्दा एक जना घाइते

क्षतिको विवरण संकलन गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालयको भनाइ

बझाङः आज दिउँसो बाजुरालाई केन्द्र बनाएर गएको भूकम्पको धक्काले बझाङमा दर्जनौं घर भत्किएका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार भूकम्पमा परी एक जना घाइते भएको र जिल्लाका सबै पालिकाका कतिपय भौतिक संरचनामा क्षति भएको छ । बाजुराको हिमाली गाउँपालिका बिच्छ्याँको मौलालाई केन्द्रबिन्दु बनाएर दिउँसो २ः४३ बजे ५ दशमलब ९ म्यानिच्युडको भूकम्प गएको भुकम्पमापन केन्द्रले जनाएको छ । भूकम्पपछि सुरक्षित स्थानतर्फ भाग्न खोज्दा जयपृथ्वी नगरपालिका वडा नं ११ का ५२ वर्षीय हरिकृण्ण जोशी घाइते भएका छन् । उनलाई उपचारका लागि धनगढी सिफारिस गरिएको छ ।

भूकम्पको धक्काले सदरमुकाम चैनपुरमा रहेको कृषि ज्ञान केन्द्रको भवन, जिल्ला अस्पताल, केही होटल र निजी घरमा पनि क्षति भएको छ । कृषि ज्ञान केन्द्रको भवनमा सशस्त्र प्रहरी बस्दै आएका छन् । यस्तै सुर्मा गाउँपालिकामा रहेको प्रहरी चौकीको भवनमा पनि क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रमेश अवस्थीले बताउनुभयो । भूकम्पका कारण जयपृथ्वी नगरपालिका, बुङगल नगरपालिका, सुर्मा, मष्टा, तलकोट, खप्तडछान्ना, थलारा र साइपाल गाउँपालिका स्थित थुप्रै निजी घर र विद्यालय, स्वास्थ्य चौकी जस्ता सार्वजनिक संरचनाहरुमा क्षति पुगेको विवरण प्राप्त भएकोे प्रहरीले जनाएको छ ।

मस्टा गाउँपालिका वार्ड नम्बर २ मा रहेको घटाल देव मंगल प्रा बि को ४ कोठे बिध्यालय भवन , मिनेश रोकाया र दिनेश रोकाया को दुईवटा घर , एउटा चर्पी सँगै दुईवटा भैंसी छाना भत्केको र गाउँ भरीका प्रत्यक घरहरुमा क्षती पुर्‍याएको मष्टा गाउपालिका वडा नमबर ४ का वडा अध्यक्ष उत्तम राज जोशीले बताउनुभयो ।

जिल्ला भरी ’दर्जनौँ घर भत्किएको खबर आइरहेका छन् क्षतिको यकिन विवरण आइसकेको छैन, क्षतिको विवरण संकलन गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रमेश अवस्थीले बताउनुभयो ।

भूकम्पको धक्काले थुप्रै घरहरु चर्किएको स्थानीयहरूले बताएका छन् । गाउँमा थुप्रै घर चर्किएकाले आरामले भित्र बस्न पनि त्रास फैलिएको स्थानीयहरूको गुनासो छ । यसअघि कात्तिकको तेस्रो साता डोटीमा ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो त्यस यता सयौं परकम्प गएका थिए ।

Loading...