डोटीको बाल मन्दिर आविका १ सय ४८ जना विद्यार्थीलाई पोसाक वितरण

डोटी: डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर – ६ ले सदरमुकाम सिलगढीमा रहेको बाल मन्दिर आधारभूत विद्यालयमा अध्ययनरत १ सय ४८ जना विद्यार्थीहरूलाई पोसाक वितरण गरेको छ ।

आर्थिक वर्ष २०७९/०८० को वडाबाट विनियोजित रकमबाट मंगलबार एक कार्यक्रमको आयोजना गरी ५४ जना छात्र र ९४ जना छात्राहरूलाई ट्रयाकसुट वितरण गरेको दिपायल सिलगढी नगरपालिका वडा नम्बर – ६ का वडा अध्यक्ष नरेश मलासीले नजर अनलाइनलाई जानकारी दिए ।

आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई पढाइमा निरन्तरता दिन र शैक्षिक गुणस्तर अभिवृद्धिमा सहयोग पुगोस् भन्ने उद्देश्यले पोसाक वितरण गरेको उनले बताए । आफुहरु वडा नम्बर – ६ लाई पूर्ण बालश्रम मुक्त वडा घोषणाका लागि पनि निरन्तर लागिरहेको वडा अध्यक्ष मलासीले बताए ।

विद्यार्थीलाई पोशाक वितरण गर्ने सिर्जनात्मक कार्यले बालबालिकालाई पढाईप्रति आकर्षित गराउन महत्त्वपूर्ण सहयोग पुग्ने कार्यक्रमका प्रमुख अतिथि एवं डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् । विद्यार्थिहरुको शैक्षिक गुणस्तर बढाउन विद्यालयमा गरिने पढाई लेखाइले मात्र नपुग्ने भन्दै उनिहरुलाई उत्प्रेरण जगाउने खालका क्रियाकलाहरू पनि आवश्यक रहेको र स्थानीय सरकारले यस्ता खालका कार्यक्रमहरूलाई जोड दिन आवश्यक रहेको प्रजिअ श्रेष्ठले बताइन् ।
वि.सं. २०३४ साल कार्तिक २२ मा स्थापना भएको उक्त विद्यालयमा प्राय आर्थिक अवस्था कमजोर भएका, अभिभावक नभएका बालबालिकाहरू अध्ययन गर्ने गरेको विद्यालय श्रोतले जनाएको छ ।
शिक्षा क्षेत्रमा वडा नम्बर ६ ले पोशाक वितरण गरि गरेको लगानीको रचनात्मक सहयोग पुर्याउने भन्दै सो विद्यालयका सस्थापक प्रधानाध्यापक एवं कार्यक्रमका विशिष्ट अतिथि लक्ष्मीदेवी श्रेष्ठले वडा परिवारलाई धन्यवाद व्यक्त गरिन् ।

विद्यालयमै गएर गरेको पोशाक वितरण वडाका जनप्रतिनिधि, कार्यक्रममा सेना, प्रहरी, पत्रकार, स्थानीयबासिन्दा र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Loading...