राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचण्डसँग भेटेर मन्त्री पदबाट सामुहिक राजीनामा

काठमाण्डौ: आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मन्त्रिपरिषदमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर मन्त्री पदबाट राजीनामा बुझाउनुभएको छ।

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएसँगै पाँच मन्त्रालय मन्त्रीविहीन बन्ने भएका छन् । रास्वपाबाट सर्वोच्चको फैसलाअनुसार यसअघि नै रवि लामिछानेले राजीनामा दिएका थिए भने आज बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको छ।

 

प्रधानमन्त्रीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दा दुई मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी थियो । जसअनुसार वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालयमा मात्रै नियुक्त गर्न बाँकी थियो । अब भने पाँच मन्त्रालय मन्त्रीविहीन बन्न पुगेको छ । रास्वपा सरकारबाट बाहिरिएसँगै अब मन्त्रिपरिषद् १९ सदस्यीय कायम भएको छ ।

Loading...