परम्परागत विवाह : एक संस्मरण


म साहित्यकाे विद्यार्थी नभए पनि मैले सामाजिक सञ्जालमा लेखेका आत्मकथाहरुबाट मेरा शुभचिन्तक सम्पूर्ण पाठकहरुबाट पाएकाे सल्लाह सुझाव र थप जिज्ञासाले गर्दा म हाैंसिएकाे पनि छु । पाठकहरुबाट पाएकाे यही हाैंसलाले गर्दा मेराे जीवनका केही थप आत्मकथाहरु लेखूँ लेखूँ लागिरहेकाे छ । यसरी मैले सामाजिक सञ्जालमा आत्मवृत्तान्त यहाँहरु समक्ष पेस गर्ने जमर्काे गर्दा याे मेराे साहित्य बिनाकाे काेरा शब्दहरु पढेर पाठकहरुले खिल्ली पाे उडाउने हुन कि? भन्ने मनमा संकाेच त लागि नै रहेकाे छ । तर पनि याे लेखले भावीपुस्ताकाे मनमा भने आश्चर्यवाेध र प्रेरणाकाे स्राेत बन्ने छ भन्ने विश्वास लिएकाे छु । भावीपुस्तालाई याे लेखमा के रहेछ त? पढीहालाैं न त भनेर जिज्ञासा पक्कै पनि पलाउन सक्छ ।


हुन त मैले विवाह प्रसङ्गलाई याे लेखमा उल्लेख गर्न खाेजेकाे हुँ । तर कहाँबाट कसरी सुरु गर्ने ? केही अडकल अाइरहेकाे छैन हजुर…। जे पाे हाेला बिषय प्रवेशगर्ने अनुमति मागे है । कुरा वि. सं. २०४६ साल मंसिर १७ गते बिहिवारकाे हाे । त्याे दिन मेराे लागि एक नाैलाे अनुभव, बचपनबाट जवानी अवस्थामा प्रवेश गरेकाे स्वर्णिम युग थियाे कि भन्ने लागिरहेकाे छ । विवाहित जाेडीहरुले याे लेख पढ्दा आफूलाई कुन दर्जा र युगसँग तुलना गर्नु हुन्छ ! त्यसमा मेराे भन्नु केही छैन । मनमा कत्ति पनि कुरा नलुकाई मेराे विवाहकाे बेलीविस्तार लगाउन गईरहेकाे छु।
आफू निकट भविष्यमा कसैकाे पति, कसैकाे भिनाजु , कसैकाे ज्वाइँ (जमाई) बन्ने र ससुराली घर हुने जाेसजाँगर र उमंगले म फुरुङ्ग भने नभएकाे हाेइन । मंसिर महिनाकाे सुरुवात सँगै विवाहकाे लागि तयारी हुन थाल्याे । रासनपानी, गरगहना, कपडा, पैंसाटाका आदिकाे जाेहाे मिलाए आमाबुवा लगायत छरछिमेकीले । गाउँका अंकल (काका), दाजुहरु, बाजे विभिन्न नातापर्ने मेरा अग्रजहरु काेही काेथला (सनपाटबाट निर्मित ठुलाे थैलाे) मा गहुँ, मकै हालेर घट्ट गए, काेही विवाहकाे लागि सरसामान किनमेल गर्न जाैलजिबी गए त बुवा गरगहाना बनाउन दार्चुला जानु भयाे । वल्लापल्ला घरमा आन्टी (काकी), बाैजू (भाउजू), दिदी, फुपूहरुले ओखलमा धान कुट्नु भयाे । करिब हप्तादिनमा विवाहकाे लागि चाहिने सरजाम (सामान) तयार भयाे । घर लिपपाेत (राताे माटाेले भित्र पट्टि र बाहिर कमेराे र राताे माटाे) गरियाे । विवाहमा सघाउनु हुने सम्पूर्णलाई नमन गर्दछु । अहिलेकाे जस्ताे विवाहकार्ड छाप्ने चलन थिएन । सञ्चार प्रविधिकाे विकास भएकाे थिएन । जाेला जनै र सुपारीसहित आफ्ना ईष्टमित्रहरु (मामा, फूपू, दिदी) आदि सबै सबैलाई स्वयम् घरमै गएर विहेकाे लागि न्युताे (निमन्त्रणा) दिईयाे । जनै र सुपारीकाे पाेका पारेर गाउँघर, टाेल, छिमेकमा पनि न्युताे दिइयाे ।
विवाह लगन नजिकै आइपुग्याे सरजामकाे जाेहाे गर्दै । मंसिर १६ गते साँझ सेलराेटीसहितकाे दशमी मनाउनु भयाे सबैले । अझ राेचक कुरा त भन्नै विर्सेछु ! न्युतेर (निम्तालु) घरमा आइपुग्ने बित्तिकै अक्षता पिठाँकाे टीकाले स्वागत गरी मुखविटाल (घिउ मिलाएकाे गुड) दिइन्थ्याे । दुध हालेर बनाएकाे चियासँगै गुडकाे कट्कीले स्वागत गरिन्थ्याे । साँच्चिकै त्याे दिन मुखैमा पुग्याे र म ब्याैलाे (बेहुला) हुने भए । १७ गते बिहानै सबै न्युतेरहरु घरमा आइपुगे । टाढाबाट आउने न्युतेरहरु त दशमीकै दिन आइसकेका थिए । जन्तीजाने तयारी हुन थाल्याे । म त त्याे दिनकाे राजा नै भैहाले, अरु न्युतेरहरु काेही ताइपश्चर (सेलराेटी) लगाउन थाले, काेही ध्वजा पताका लगाउन (पतंग) थाले, काेही केलाका थुम (बाेट) बाट निर्मित गेट बनाउने त काेही चाहा (चिया) पकाउने, काेही भाँडा धुने (बाैजू, काकी आदि), काेही उखु पेल्ने सबै काम एकै छिनमा सकियाे । डाेली (तापदानी) पताकाहरुले सजाइयाे । मसकिबिन बजाउँदै केशर अंकल पनि पारी दाेबाटामा देखिए । विवाहमा मसकिबिन बजाउने अंकल अहिले याे धर्तीमा हुनु हुन्न, वहाँलाई श्रद्धासुमन अर्पण गर्न चाहन्छु । बरेती जाने सबै बरेतीहरु तयार भए ।



अब यहाँहरुलाई ब्याैलाकाे बारेमा खुल्दुली पनि भयाे हाेला । सरसफाईमा त म सानै उमेरदेखि ध्यान दिने गर्दथे । कपाल, नङ काटैकै थिएँ । दाह्री जुङ्गा आएकाे थिएन । अहिलेकाे तडकभडक भन्दा त्यतिबेला पक्कै पनि फरक थियाे भन्नमा द्विमत नहाेला । सबै कुरा भन्याे भने पाठकहरु हाँस्ने पाे हुन कि या ब्याैलाकाे खिल्ली उडाउने पाे हुन कि भनेर मनमा कता कता संकाेच लागिरहेकाेछ । अहिलेकाे जस्ताे बेहुलाकाे लागि विशेष पाेसाक काेट, पाइन्टकाे खासै चलन थिएन । अब राजालाई एलटी ज्याकेट, बेलीबटन पाइन्ट, ढाका राेपी, खाकीकाे जुत्ता, मुकुट, रिवन चस्मा, घाँटीमा दुबाे र रुपैयाँकाे माला, कम्मरमा सानाे खुकुरी, मुखमा कुरमुली (सिन्दुर, पिठाेबाट निर्मित बुट्टा) छेकेर सजाइयाे । म राजाले साच्चिकै ब्याैलाकाे पदवी पाए । त्यतिबेला फाेटाे खिच्न पनि क्यामेराकाे व्यवस्था कहाँ हुनु र हजुर, गाउँले परिवेश । जन्ती बटिन्या (तयार) बेला महिलाहरु सगुना फाग गाउदै र ब्राह्मण जयदत्त अवस्थी अंकल बेदपाठ सहितकाे मन्त्राेच्चारणले अभिषेक गर्दै ब्याैलालाई बिदाई गर्नु भयाे र अब ब्याैलाे डाेलीमा बसेर मसाकिबिनकाे धूनमा करीब १५० जनाकाे हाराहारीमा बरेती (जन्ती) बुवा, भणरे, पतरे, मुखिया सहितकाे गुल्म दिउँसाे २:०० बजेतिर ब्याैली (बेहुली) घर बाराकाे लागि प्रस्थान भयाैं ।
मेराे विवाह गुल्म (जत्था) घरबाट माथि उकालाे छानागैर हरि अंकलकाे घरकाे माथिबाट हुँदै मसकीबिनकाे संगीतमय धुन र वेकुल ( बिगुल)काे मिठाे ध्वनिसंगै माथि उकालाे सचिव अंकलकाे घरबाट हुँदै ठुलीखाली चाैरमा रमाइलो गर्दै पुगियाे । बरेती बिस्तारै कछुवाकाे गतिमा अगाडि सर्दै गरेकाे राेचक दृश्यले साँच्चिकै म ठुलै मान्छे भएछु कि क्या हाे ? मनमनै गदगद भैरहेकाे थिएँ । बरेती जाने बाटाे बाटाेमा रामायण, महाभारत, गीताका पुस्तक राखिएका थिए त कतै स्याउला र कतै सल्लाकाे हरियाे पिराेल विछ्याइएको देखिन्थ्याे । कतै बाटाे बाटाेमा महिला दिदीबहिनीहरु सगुना ( सगुन) गाइरहेका थिए । बाटाेमा राखिएका पुस्तक, स्याउला, पिराेलमा गच्छे अनुसार रुपैयाँ पैंसा राख्ने, गुडकाे भेल्ली दिने काम दान सिंह काका (चक्कीवाला) गरिरहनु भएकाे थियाे । एवम प्रकारले बरेती (जन्ती) स्याउलेकाे लेक, लाेदयाकाेसैन, ऐरिछाना, बुराैंस्या, जेठीबाैरानीका ढुङा, लटिनाथ मन्दिर जयपूर, चाैपाता हुँदै ब्याैली (जमुना) काे घरकाे माथि लेकमा पुगियाे । लेकबाट तल पाती (बारा) मा मानिसहरुकाे चहलपहल भैरहेकाे देखियाे । बरेतीहरुले एकछिन विश्राम गरेर भाइ रुपेन्द्र लगायतका फुच्चे (केटाकेटी) हरुलाई ब्याैलीकाे घरमा सभ्य तरिकाले प्रस्तुत हुन बुवा लगायतका सिन्याडीका पतरे बाजेले निर्देशित गर्नु भयाे । फुच्चेहरुले पनि हँमा हँ मिलायाे र एकछिनकाे विश्राम पछि राजा र प्रजा (जन्ती र बेहुला) हरु ओरालाे जमुनाकाे घरतिर प्रस्थान भयाैं । करिव साँझकाे ७:०० बजेतिर मन्द उज्यालाेमा गैसकाे चहकिलाे प्रकाशकाे साथमा ब्याैलीघर पुगियाे । याे लेख पढ्ने साना बाबू नानीहरुलाई फुच्चे भन्ने शब्दले घाेचेकाे हेपेकाे अनुभूति हुन सक्छ, मायाले फुच्चे शब्द प्रयाेग गरेकाे व्यहाेरा पनि अनुराेध गरे है ।


ब्याैली घर पनि लिपपाेत गरि ध्वजा पताकाले सु-सज्जित बाहिर आगनमा केराका थुम (बाेट) द्वारा निर्मित जग्गे (विवाह मण्डप) मा ब्राह्मण लगायत काे काे हुन? सबै सबै थिए । तापदानीमा सवार ब्याैलाे घर आगनकाे छेउमै पुग्दा ब्याैली घरका दुईजना लख्खा जवानले तापदानी काँध हाल्दै जग्गे नजिक पुगायाे र ब्याैली पक्षबाट पनि तादानीमै सवार एकजनाले वरमाला पहिराए । तापदानीबाट ओर्लिएपछि जग्गेमा जानू पर्ने हुँदा जुत्ता फुकालियाे र जग्गेमा गए । दुवै पक्षबाट गर्नु पर्ने काम सम्पन्न गरी काेरसाैलामा जानकाे लागि जुत्ता लगाउन खाेजेकाे त जुत्ता त हराइसकेकाे रहेछ । टाउकाेमा कलश बाेकेका साली हुनगइरहेका ५/७ जना साना साना नानीहरु खिल्खिल्ती हाँस्न पाे थाले । अब पर्याे फसाद ! त्यसपछि के भयाे हाेला भन्ने पाठकलाई जिज्ञासा भएमा यस पछिकाे लेखमा उल्लेख गर्ने बाचा गर्दै अहिलेलाई बिट मारे है ।
धन्यवाद !!!
मान सिंह धामी
उप-प्राध्यापक
कैलाली बहुमुखी क्याम्पस, धनगढी

