सुदूरपश्चिमेली महिलाहरूकाे महान चाड गाैरापर्व


गौरापर्वका अधिष्ठाता पूजित देवता भनेका शिव र पार्वती हुन् । शिव जी र पार्वतीलाइ मात्रै पुज्ने देवता मानेर गौरा पर्वकाे उत्पत्ति भएकाे कुरा स्कन्द पुराणकाे मानसखण्डमा उल्लेख भए पाइन्छ । जस अनुसार– याे मानसखण्डमा पर्ने मानसरोवर कैलाश पर्वतकाे एक कन्दरामा हिमालय पर्वतकी चेली गौरीले महादेव शिवलाइ मात्र पति पाऊँ भनी बालुवाको शिवलिङ्ग बनाएर १२ बर्ष सम्म निर्जन हिमालयकाे कन्दरामा कष्टपूर्ण तपस्या र पूजा गरेर बसेकाे प्रतिफलमा उनले श्री महादेवलाइ पति पाएकाे हुनाले हिमालय पुत्री गौरीले त्यही शिव पार्वती सम्वन्धी विवाह विधी र पूजन अर्चन गरेको विषयलाइ आधार बनाएर त्यसै बेलादेखि सुदूर पश्चिमका नारीहरूले हिमालयकी पुत्री गौरी लाइ गोःरा–गौरा–गमराको प्रतिमूर्तिका रुपमा शिवपार्वतीको पुजा आजा र ब्रत उपवास बस्दै आएका छन् ।


गौरा सुदूर पश्चिम क्षेत्रको महत्त्वपूर्ण धार्मिक एवं साँस्कृतिक पर्व हो। गौरा पर्व विशेष गरेर दार्चुला, बैतडी र कुमाउँमा परापूर्व कालदेखि नै मनाउँदै आएको पर्व हो। गौरा पर्व भाद्र कृष्ण पक्षकाे षष्ठीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ। गौरा पर्वको पहिलो दिन महिलाहरूले निराहार उपवास बसी आ-आफ्नो घरमा वा भणारी घरमा तामा वा पित्तलको भाँडोमा बिरुडा अर्थात् पाँचथरीका अन्न गेडागुडी (कलाैं, गुराँस,मास, गहुँ, गहत) भिजाउने गर्छन्। गौरापर्वमा व्रतालु तथा तथा श्रद्धालु महिलाहरूद्वारा गौराघर (भणारी घर) मा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ। बिरुडा भिजाएको केही दिनपछि महिलाहरूले सामूहिकरूपमा धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटबाट गौराको प्रतिमा (मूर्ति) बनाई गौराघरमा भित्र्याउँछन् । धेरै जसाे ठाउँमा त अाजभाेली तामा, पित्तल, चाँदीकाे गाैराकाे प्रतिमा बनाई डालाेमा विभिन्न थरिका फलफूल राखेर राताे पहेंलाे घुम्टाे अाेडाएर टाउकाेमा राखेर खेल्ने, खेलाउने र नाच्ने गर्दछन् ।



धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा)को पूजाआजा गर्ने गरिन्छ। गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, ठाडाे खेल, डुस्काे, दाेहाेरी, धमारी आदि खेल खेलेर आनन्द लिन्छन्। अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पुर्याउने मात्र नभई यस पर्वमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास रहिअाएकाे छ। सुदूपश्चिमेलीहरूले धुमधामका साथ मनाइने गौरापर्व भाद्र कृष्ण पञ्चमीदेखि सुरु हुने गर्दछ।


गौरा पर्वमा गहुँ, केराउ, गहत, मास र गुराँस मिसाएर तामाका भाँडामा भिजाइने अन्नको समिश्रणलाई बिरुडा भन्ने गरिन्छ। महिलाहरूले गौरा पर्व सुरु भएको दोस्रो दिन भोलीपल्ट पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामुहिक रूपमा बिरुडा धोएर गौरा देवीको प्रतिस्थापन गर्ने चलन छ। पार्वतीले कठोर तपस्याद्वारा शिवलाई पतिका रूपमा प्राप्त गरेको पौराणिक कथन अनुसार यस पर्वमा विशेषगरी गौरी अथार्त पार्वतीको पूजाअर्चना गरिन्छ । सप्तमीका दिन गौरा देवीलाई नजिकको मठ–मन्दिरमा भित्र्याएर पुजा–अर्चना गरी महिलाहरूले दुबधागो चढाउने गर्छन्। अष्टमीका दिन त्यही दुबधागो अभिषेक गरेर घाँटीमा लगाएर देवीको पुजा गर्ने परम्परा रहेको छ। सुदूरपश्चिममा महिलाले लगाउने दुबधागोको र पुरुषले लगाउने जनैको जस्तै महत्त्व रहेको छ।
मान सिंह धामी
कैलाली बहुमुखी क्याम्पस, धनगढी


