सुदूरपश्चिम प्रदेश सरकारले क्रिकेटर खेलाडीलाई नगद पैसाले बधाई दिदै

सुदूरपश्चिम प्रदेश सरकारले क्रिकेट खेलाडीलाई नगदसहित सम्मान गर्ने भएको छ ।हालै काठमाडौंमा सम्पन्न आइसीसी क्रिकेट विश्वकप–२ एकदिवसीय प्रतियोगितामा विजयी हुदैं विश्वकप छनौट प्रतियोगितामा प्रवेश गराउन सफल सुदूरपश्चिम प्रदेशका खेलाडीलाई नगदसहित सम्मान गर्ने भएको हो ।

फागुन २ गते युएईलाई पराजित गर्दै नेपाललाई विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट गराउँदै ऐतिहासिक सफलता दिलाउने नेपाली टोलीमा रहेर महत्वपूर्ण योगदान दिएका प्रमुख खेलाडी दिपेन्द्रसिंह ऐरी र भिम सार्कीलाई जनही दुई÷दुई लाख दिने सुदूरपश्चिम प्रदेश सरकारले घोषणा गरेको हो ।

यस्तै टिममा परेका खेलाडी सन्दिप जोरालाई १ लाख र अन्तिम १८ मा पर्न सफल कमलसिंह ऐरी र अर्जुन सावदलाई ५० हजार गरी ६ लाख दिने मुख्यमन्त्री कमल शाहको सचिवालयले जनाएको छ ।
नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दको विषेश पहलमा सुदूरपश्चिम प्रदेश सरकारले खेलाडीलाई प्रोत्साहन स्वरुप पुरस्कार दिने घोषणा गरेको हो । चन्दको सुदूरपश्चिम गृह प्रदेश पनि हो । प्रदेश सरकारले पुरस्कार दिने घोषणा गरेकोमा खुसी व्यक्त गर्दै यो प्रोत्साहनले अगामी दिनमा पनि क्रिकेट लागिरहन हौसला मिलेको खेलाडी भीम सार्कीले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेश सरकारले खेलाडी नगदसहित सम्मानको घोषणा गर्ने कार्य निकै सह्रानिय रहेको क्रिकेट संघका अध्यक्ष चन्दले बताउनुभयो । पुरस्कारले खेलाडीलाई खेलप्रति लागिरहन हौसला मिल्ने चन्दले बताउनुभयो ।
लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखलाको अन्तिम खेलमा फागुन २ गते युएईलाई हराउँदै शीर्ष तीन अटाउँदै विश्वकप छनोट खेल्न योग्य भएको हो । विश्वकप छनोट आगामी जुन र जुलाईमा जिम्बाबेमा हुनेछ । जिम्बाबेमा हुने छनोट खेलमा नेपालले अब टेस्ट मान्यता राष्ट्रसहित अन्य देशसँग छनोट खेल खेल्नेछ ।

 

छनोटमा कुल १० टोली हुनेछन् । विश्वकप छनोटमा सुपर लिग–२ का पुछारका पाँच टोली, लिग–२ का शीर्ष तीन टोली नेपाल, ओमान र स्कटल्याण्ड र प्लेअफ क्वालिफायरमा शीर्ष दुई टोली गरि कुल १० टोली हुनेछन् ।
सुदूरपश्चिम प्रदेश सरकारले यसअघि यू–१९ नेपाली क्रिकेट टोलीलाई विश्वकपमा पुर्याउन सफल भएका आफ्ना प्रदेशका क्रिकेटरलाई जनही एकलाख पुरस्कार दिने घोषणा गरेको छ । हालै युएईमा सम्पन्न एसिया छनौटमा अपराजित रहदैं च्याम्पियन बनेको नेपाल सन २०२४ मा हुने आईसीसी यू–१९ विश्वकप क्रिकेटका लागि छनौंट भएको थियो ।
सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीस्तरीय निर्णयबाट उक्त टोलीमा प्रतिनिधित्व गरेका पाँच खेलाडी जनही एक लाख र चार टिम अफिसियललाई जनही ५० हजार दिने घोषणा गरेको हो ।

नेपाली यू–१९ क्रिकेट टोलीमा सुदूरपश्चिमका दीपक बोहरा,दिपक बोहरा बी, मिलन बोहरा, हेमन्त धामी र आकाश चन्द रहेका थिए । यस्तै टिम अफिसियलमा मुख्य प्रशिक्षक जगत टमटा,सहायक प्रशिक्षक धिरेन्द्र चन्द, व्यवस्थापक बिक्रम विष्ट,फिजियो पुरन तिरुवा रहेका थिए ।

यु १९ नेपाली टोलीले २०१६ को विश्वकप पछि पहिलो पटक विश्वकपमा स्थान बनाएको हो । विश्वकपमा छनोट भएको उक्त टोलीका सदस्यलाई नेपाल सरकारले नेपाल क्रिकेट संघ क्यानले जनही एक लाख रुपैँयाको पुरस्कार दिने घोषणा समेत गरेको छ ।

 

Loading...