स्ववियु निर्वाचनः बैतडीका दुई क्याम्पसको निर्वाचन अनिश्चित


बैतडीः त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक क्याम्पसमा आइतबार हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन बैतडीका दुई क्याम्पसको निर्वाचन अनिश्चित भएको छ । जिल्लामा त्रिविबाट सम्बन्धन प्राप्त छ क्याम्पस रहेपनि चार क्याम्पसमा आइतबार निर्वाचनको तयारी भएपनि दुई क्याम्पसमा भने विवादका कारण अनिश्चित भएको हो ।


यहाँको सिगास शिक्षा क्याम्पस,गाँजरी र बैतडी शिक्षा क्याम्पस,शाहीलेकमा स्ववियु निर्वाचनका बिषयमा विवाद देखिएकोले अनिश्चित भएको छ । सिगास शिक्षा क्याम्पसमा मनोनयनको दिन नेविसंघको मात्रै मनोनयन परेको भन्दै अनेरास्ववियुले क्याम्पसलाई पत्र पठाएको थियो ।



मनोनयन अगाडी नेविसंघ र अनेरास्ववियुबीच सहमती भएको र पछि आएर कुरा नमिल्दा निर्वाचन अनिश्चित भएको सिगास शिक्षा क्याम्पसका प्रमुख राजेन्द्रसिंह धामीले जानकारी दिनुभयो । क्याम्पसमा रहेका नेविसंघले ६ र अनेरास्ववियुले ५ पद लिने गरि सहमती भएको भएपनि अनेरास्ववियुले माथिको आदेश भन्दै सहमति नगरेको धामीको भनाई भनाई छ । उहाँले भन्नुभयो,“ मनोनयनको दिन नेविसंघको मात्रै उम्मेदवारी परेको छ, लेटरहेड नेविसंघको देखिएपनि दुबै संगठनका विद्यार्थी रहेका छन्। ”


नेविसंघले निर्वाचन प्रक्रिया अघि बढाउन आग्रह गरेको भएपनि निर्वाचन अधिकृत नरबहादुर धामीले राजीनामा दिएपछि क्याम्पस प्रमुख धामीले तत्कालका लागि स्थगन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो,“ मनोनयन नेविसंघको भएपनि १ गते दुबैले संगठन बसेर पुर्वसहमति अनुसार अगाडी बढ्छौं भनेर हस्तलिखित रुपमा नै निर्वाचन समिति, क्याम्पसलाई पत्र दिएका छन्। विद्यार्थी संगठनले समय समयमा कुरा फेर्ने गरे, निर्वाचन अधिकृतले राजीनामा लिए,त्यसपछि मैले निर्वाचन स्थगित गराए । ”
हाल नेविसंघले क्याम्पसमा ताला लगाएकोले आइतबार निर्वाचनको सम्भावना नरहेको धामीको भनाई छ ।
यता सदरमुकामस्थित बैतडी शिक्षा क्याम्पसमा निर्वाचन समितिले निर्देशिका विपरीत काम गरेको भन्दै नेविसंघले तालाबन्दी गरेको छ । अहिले निर्वाचनका विषयमा अनेरास्ववियु र नेविसंघका प्रतिनिधिहरु बसेर छलफल गरिरहेका भएपनि सहमति हुने सम्भावना न्युन रहेको नेविसंघ बैतडीका सदस्य रोशन बोहराले बताउनुभयो । क्याम्पस प्रशासनले एकलौटी रुपमा नेविसंघलाई बाहिर राखेर अगाडी बढ्न खोजेपछि तालाबन्दी गरिएको बोहराको भनाई छ । सहमति हुने सम्भावना नदेखिएपछि आइतबार हुने निर्वाचन अनिश्चित बनेको हो ।

यहाँका अन्य चारओटा क्याम्पसमा भने आइतबार हुने स्ववियु निर्वाचनको तयारी पूरा भएको छ । श्रीकोट बहुमुखी क्याम्पस,पुर्चौंडी बहुमुखी क्याम्पस, नवप्रभात संयुक्त क्याम्पस र सेटीगाउँ बहुमुखी क्याम्पसमा निर्वाचनको तयारी पुरा भएको हो । श्रीकोटमा दुईसय दश, पुर्चौडीमा चारसय ९७, नभप्रभातमा एकसय ९९, सेटिगाउँमा तीनसय दुई जना विद्यार्थी मतदाता रहेका छन् ।
आइतबार बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म मतदान कार्यक्रम सञ्चालन गर्ने गरेर तयारी पूरा भएको क्याम्पसहरुले जनाएका छन् ।

