सुदूरपश्चिम प्रदेशलाई समुन्नत विकास र रोजगारी श्रृजना गर्न निजी क्षेत्रलाई लगानी गर्न मुख्यमन्त्री शाहको आग्रह

अत्तरिया : मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन । उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमको छैटौं प्रदेश सभाको शनिबार धनगढीमा उद्घाटन गर्दै उनले लगानीका लागि निजी क्षेत्रलाई आग्रह गरेका हुन् । ‘‘तपाईहरु आउनुहोस् । सुदूरपश्चिम प्रदेशमा लगानी गर्नुहोस’’, उनले अगाडि थपे, ‘प्रदेश सरकारले कहाँनेर के सहयोग गर्नुपर्छ, त्यसको लागि हामी तयार छौं ।’’

उनले सुदूरपश्चिमको आर्थिकस्तर उकास्ने र प्रदेशलाई समृद्धितिर लैजाने कार्यमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए । प्रदेशमा रहेको सम्भावनाको पहिचान निजी क्षेत्रले गरेकाले हातेमालो गरेर अगाडि बढ्न मुख्यमन्त्री शाहको आग्रह थियो । ‘‘निजी क्षेत्रलाई प्रदेश सरकारले के सहयोग गर्नुपर्छ, त्यो हामी गर्छौ’’, उनले भने ।

विश्वभर नै आर्थिक मन्दी भइरहेको बेला प्रदेशमा रहेको साधन, स्रोत सदुपयोग गर्न सुदूरपश्चिम प्रदेश सरकार तत्पर रहेको मुख्यमन्त्रीको भनाइ थियो । उनले कमजोर मनस्थितिले मुलुक अगाडि बढ्न नसक्ने भन्दै थपे,‘‘ दृढ इच्छाशक्ति चाहिन्छ । हामीले केही न केही परिवर्तन ल्याउनुपर्छ ।’’ अहिलेसम्म भएको कमी कमजोरीबाट पाठ सिक्दै अगाडि बढ्न आवश्यक रहेको मुख्यमन्त्री शाहले औंल्याए । उनले भन्नुभयो,‘‘सबै कुरा राजनीतिलेमात्रै बिगारेको होइन। भएका कमजोरीबाटै पाठ सिक्दै अगाडि बढौं ।’’

एउटा नीति बनाएर अगाडि बढेमा असम्भव भन्ने केही नरहेको मुख्यमन्त्री शाहले बताए । सुदूरपश्चिमलाई केही न केही दिनुपर्छ भन्ने मानसिकताका साथ आफू अगाडि बढिरहेको उल्लेख गर्दै उनले निजी क्षेत्रले साथ त्यो सम्भव हुने उल्लेख गरे ।

Loading...