बैतडी: बैतडीको सिगास गाउँपालिकामा रुपान्तरण सम्बन्धी समन्वयात्मक बैठक सम्पन्न गरिएको छ । बालविवाह अन्त्यका लागि बैतडी जिल्लाका ७ पालिकामा सञ्चालनमा रहेकाे रुपान्तरण कार्यक्रमको समन्वयात्मक बैठक आज सिगास गाउँपालिकामा सम्पन्न भएको हो । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) को आर्थिक सहयोग र पीसवीन नेपालको सामाजिक तथा प्राविधिक सहयोगमा सिगास गाउँपालिका सदरमुकाम गर्जेमा आज सो बैठक सम्पन्न गरिएको हो ।

बालविवाह अन्त्यका लागि किशोरकिशोरीहरुलाई परिचालन गर्दै समाजमा विद्यमान बालविवाह, लैङ्गिक हिंसा अन्त्य गर्ने उद्देश्य सहित रूपान्तरण सम्बन्धी समन्वयात्मक बैठक सिगास गाउँपालिकामा सम्पन्न गरिएको बालविवाह अन्त्यका लागि विश्वव्यापी कार्यक्रमका पालिका संयोजक कृष्ण दत्त भट्टले बताए । उहाँले भन्नुभयो ‘ बालविवाह जस्ता हानिकारक प्रचलन हटाउनका लागि हामीले यो अभियान सञ्चालन गरेका हौं ।’
बैतडी जिल्लामा ७ पालिका र सिगास गाउँपालिकाको ५ वडामा सञ्चालनमा रहेकाे रुपान्तरण कार्यक्रमले बालविवाह अन्त्यका लागि महत्वपूर्ण प्रयास गरेको पालिका संयोजक भट्टले बताए । रुपान्तरण कक्षामा सहभागी किशोरकिशोरीहरुले साप्ताहिक रुपमा सञ्चालन गर्ने कक्षाले बालविवाह न्यूनीकरणका लागि महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ छ ।
रुपान्तरण कक्षाले समाजमा रुपान्तरण ल्याउन र किशोरकिशोरीहरुलाई सक्षम बनाउनका लागि महत्वपूर्ण भूमिका खेलेको सहजकर्ता बिनोद साउदले बताए । रुपान्तरण कार्यक्रम मार्फत स्थानीय सरकारहरुसंग आफ्ना कुराहरु राख्न सहज भएको उनको भनाइ छ । रुपान्तरण कक्षाका माध्यमबाट गाउँमा बालविवाह न्यूनीकरण क्षेत्रमा सफलता मिलेको र आफ्नो व्यक्तिगत जीवनमा समेत धेरै परिवर्तनका आएको सहजकर्ता साउदले बताए ।

रुपान्तरण सम्बन्धी समन्वयात्मक बैठकमा सिगास गाउँपालिका अध्यक्ष हरि सिंह धामी, प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थी, रुपान्तरण कार्यक्रमका पालिका संयोजक कृष्ण दत्त भट्ट र सिगास गाउँपालिकाको विभिन्न विषयगत शाखामा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थीत सबैले बालविवाह अन्त्यका लागि रूपान्तरण कार्यक्रम कोशेढुंगा सावित हुने बताएका थिए ।
समन्वयात्मक बैठकमा बोल्दै सिगास गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) को आर्थिक सहयोग र पीसवीन नेपालको सामाजिक तथा प्राविधिक सहयोगमा सिगास गाउँपालिकाका ५ वडामा सञ्चालनमा रहेकाे रुपान्तरण कार्यक्रम आगामी वर्ष सबै वडाहरूमा सञ्चालन गर्नेगरी २०८२।२०८३ को बजेटमा समावेश गर्न पहल गर्ने बताउनुभयो । उहाँले रूपान्तरण कार्यक्रमले सिगास गाउँपालिकामा बालविवाह,लैङ्गिक समानताका विषयमा चनाखो भएर अगाडी बढ्नुपर्ने बताउनुभयो ।
यस्तै बैठकमै सिगास गाउँपालिका अध्यक्ष हरि सिंह धामीले आगामी आर्थिक वर्ष २०८२।८३ को बजेटमा बालविवाह अन्त्य सम्बन्धीको ५ वर्षीय रणनितीक योजनालाई आधार बनाएर बालविवाह अन्त्यका लागि कार्यक्रमहरुलाई स्थान दिने बताउनुभयो । यस्तै सोही बजेटबाट रूपान्तरण कार्यक्रममा सहभागिता जनाएका किशोर किशोरीका अभिभावकका लागि अन्तरपुस्ता संवाद, किशोर किशोरी शसक्तिकरण जस्ता कार्यक्रमहरू संचालन गर्ने प्रतिबद्दता समेत व्यक्त गर्नुभएको छ ।
सिगास गाउँपालिकाका ५ वडामा सञ्चालनमा रहेकाे किशोर किशोरी विशेष रुपान्तरण कार्यक्रमले बालविवाह, लैङ्गिक हिंसा अन्त्यको लागि ठुलो पहल गर्ने अपेक्षा गरिएको छ ।