निर्मलाको न्यायका लागि मानवसाङ्लो बनाएर महेन्द्रनगरमा प्रदर्शन

label सुदूरखबर संवाददाता query_builder December, 06 2018

कञ्चनपुर, मंसिर २० । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालीका २ खोल्टीकी १३ वर्षिया निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै बिहीबार महेन्द्रनगरमा विरोधस्वरुप मानवसाङ्लो बनाई विरोध प्रदर्शन गरिएको छ ।

नागरिक संघर्ष समितिले आयोजना गरेको विरोध प्रदर्शनमा स्थानिय बासिन्दा, अधिकारकर्मी विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

महेन्द्रनगर बजारका भानु चोक, मदन चोक, दशरथ चोक लगायतका क्षेत्रमा मानव साङ्लो बनाई विरोध प्रदर्शन गरिएको छ । मानव साङ्लोमा विद्यालय पोशाकमै सहभागी विद्यार्थीहरुले साङ्लो तोडेर हत्यारा लुकाउन पाईदैन, निर्मलाका हत्यारा सार्वजनिक गर, निर्मलालाई न्याय दे लगायतका नारा लगाउदै प्रदर्शन समेत गरेका छन् ।

नागरिक संघर्ष समिति कञ्चनपुरका संयोजक मिना भण्डारीले निर्मलाले न्याय नपाउँदासम्म संघर्षका कार्यक्रम जारी रहने बताइन्। यस पछिका संघर्षका कार्यक्रम बैठक बसेर तय गरिने उनले बताइन् । बुधवार संघर्ष समितिले दिउसै टर्च बालेर महेन्द्रनगर बजारमा निर्मलाको न्यायका लागि विरोध प्रदर्शन गरेको थियो । यस अघि महिला अधिकारर्मीहरुले टाउकोमा कालो पट्टि बाँधेर सडकमा सुतेर न्याय मागेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुस्