बिडीसिए क्रिकेट : ‘सुपर सिक्स’ समीकरण पूरा

label सुदूरखबर संवाददाता query_builder December, 06 2018

विनोदसिंह विष्ट/सुदूरखबर।
बैतडी, मंसिर २० । बैतडीमा जारी बिडीसिए कप टी ट्वान्टी क्रिकेट प्रतियोगितामा अन्तर्गत ‘सुपर सिक्स’ पुग्ने सबै टोलीको टुंगो लागेको छ ।

बिहीवार दशरथचन्द एकेडेमी र नवजागृती क्रिकेट क्लव अन्तिम ६ मा पुगेसंगै सुपर सिक्सको समीकरण पूरा भएको हो। यसअघि निंगलाशैनी क्रिकेट क्लव (एनसिसि), यौंङ्गस्टार मेलौली, कालाशैनी क्रिकेट क्लव र पञ्चकोटी क्रिकेट क्लव सुपर सिक्समा पुगिसकेका छन् ।

बुड्डा बाजे खेल मैदानमा भएको लिग चरणको अन्तिम खेलमा एनआरआईसी बठ्ठालाई ६८ रनले पराजित गर्दै एकेडेमी अन्तिम छ मा प्रवेश गरेको हो । पहिला ब्याटिंग गरेको एकेडमीले १२२ रन बनायो । १२३ रनको लक्ष्य पन्छाएको बठ्ठा ५४ रनमा समेटियो । बठ्ठाको पारी ध्वस्त पार्ने क्रममा एकेडमीका लागी ५ विकेट हात पारेका जगदिश चन्द म्यान अफ दम्याच घोषित भए ।

यता निंगलाशैनी खेलमैदानमा भएको पहिलो खेलमा अस्मिकेदारलाई ८ विकेटले स्तब्ध पार्दै गिरेगडा विजयी भएको छ । अस्मिकेदारले दिएको ८८ रनको लक्ष्य गिरेगडाले २ विकेटको क्षतीमा पुरा गर्यो । ४ विकेट हात पारेका अस्मिकेदारका बलदेव बडु म्यान अफ द म्याच भएका छन् । अस्मिकेदार र गिरेगडा यसअघि नै प्रतियोगिताबाटै बाहिरिसकेका थिए ।

यस्तै दोस्रो खेलमा पाटन भ्यालीलाई ६ विकेटले स्तब्ध पार्दै महामाया विजयी भएको छ । पाटन भ्यालीले दिएको १०५ रनको लक्ष्य महामायाले १५ ओभर ४ बलमा ४ विकेटको क्षतीमा पुरा गर्यो ।

महामायाका लागी व्यक्तिगत नटआउट ३३ रन तथा २ विकेट हात पारेका यज्ञराज भट्ट म्यान अफ दम्याच घोषित भए । महामायाले जित हात पारे पनि सुपर सिक्समा पुग्न भने सकेन । महामायाले १३ ओभरमा खेल जितेको भए रनरेटका आधारमा सुपर सिक्समा प्रवेश गर्थ्यो । समूह एफमा रहेका पाटन भ्याली , महामाया र बसन्तपुर तिनै टोलीले एक एक खेल जितेकोमा बसन्तपुर रनरेटका आधारमा सुपर सिक्समा पुगेको स्कोरर दिपेन्द्र बोहराले जानकारी दिए ।

यसैबिच प्रतियोगिता अन्तर्गत सुपर सिक्सको पहिलो खेल सम्पन्न भएको छ । बुड्डाबाजे खेल मैदानमा भएको पहिलो सुपरसिक्सको खेलमा पञ्चकोटीलाई ७ विकेटले पाखा लगाउदै विजयी भएको छ । पञ्चकोटीले दिएको ९६ रनको लक्ष्य कालाशैनीले ३ विकेटको क्षतीमा पुरा गर्यो । व्यक्तिगत १९ रन तथा २ विकेट हात पारेका कालाशैनीका सन्तोस चन्द म्यान अफ दम्याच भए ।

प्रतियोगिता अन्र्तगत शुक्रवार सुपर सिक्सका ३ खेल हुने भएका छन् । निंगलाशैनी खेल मैदानमा हुने पहिलो खेलमा एनसिसि र यौंङ्गस्टार प्रतिस्प्रर्धा गर्दा दोस्रो खेलमा बसन्तपुर र यौंङ्गस्टारबिच भिडन्त हुने भएको छ । उता बुड्डाबाजे क्रिकेट मैदानमा हुने एकमात्र खेलमा एकेडेमी र कालाशैनी आमनेसामने हुने भएका छन् ।

१९ टोली सहभागी प्रतियोगितालाई ६ समूहमा विभाजन गराईएको छ । बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको प्रथम पुरस्कार ३० हजार , द्वितीय पुरस्कार २० हजार रहेको छ । बिडीसिए कपवाट नै आठौं राष्ट्रिय खेलकुदका लागी जिल्लावाट क्रिकेट टोलीको छनौट हुने बैतडी जिल्ला क्रिकेट संघका कोषाध्यक्ष खेमराज भट्टले जानकारी दिनुभयो । मंसिर १५ गतेदखि सुरु भएको बिडीसिए कपको यो १८औं संस्करण मंसिर २४ गते सम्पन्न हुनेछ ।

तपाईंको प्रतिक्रिया दिनुस्