जैविक मार्ग र म्याराथन मार्च

label सुदूर खबर संवाददाता query_builder January, 08 2019

स्थानीय तह निर्वाचनमा भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टको उत्तरी क्षेत्र घाँडीघाँच क्षेत्रमा जैविक धार्मिक पर्यटन मार्ग बनाउने मुख्य चुनावी एजेण्डा थियो । घाँडीघाँचका वासिन्दालाई यातायात सुविधा, चुरे संरक्षण, वासिन्दा र वन्यजन्तुबीच द्वन्द्वको अन्त्य, वन अतिक्रमण रोकथाम र वासिन्दाको जनजीवनमा परिवर्तनका लागि जैविक मार्ग चुनावी एजेण्डा बनाइएको हो ।

रनि विवश
रनि विवश

चुनावी एजेण्डा अनुसार भीमदत्त नगरपालिका वडा नं. १ बाराकुण्डाको रौटेलादेखि वडा नं. ९ ब्रह्मदेबससम्म १५ दशमलव ३ किलोमिटर लम्बाईको १८ मिटर चौडा बाटो निर्माण गरिएको छ ।

उत्तरी क्षेत्रका सबै धार्मिक स्थल एक आपशमा जोड्ने गरी निर्माण गरिएको बाटोले धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुगाउने लक्ष्य राखिएको छ । भीमदत्त नगरपालिकामा खेल पर्यटन विकासका लागि पुसे पन्ध्रेको अवसरमा म्याराथन धावक बैकुण्ठ मानन्धर सहितको झण्डै डेढ हजार खेलाडी र १० औं हजार वासिन्दाको सहभागितामा म्याराथन मार्च आयोजना गरिएको छ ।

भीमदत्तको इतिहासमा पहिलो पटक आयोजना गरिएको म्याराथनले जैविक मार्गको पहिचान फराकिलो बनेको छ । नेपाली एथ्लेटिक्सका महापुरुष, नेपाली खेलकूदका किर्तिमानी खेलाडी मानन्धरको सहभागिताको जैविक मार्गको गरिमा ह्वात्तै बढेको छ । सुदूरपश्चिम सरकारको प्राथमिकतामा परेको यो मार्ग केही वर्षमा नमूना मार्गका रुपमा आउने छ । चालु वर्षमा विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनाउन दुई करोड रुपैँया बजेट विनियोजन गरिएको छ ।

भीमदत्तको इतिहासमा जैविक मार्ग र म्याराथन दुबै इतिहास बनाएका छन् । यी दुबै इतिहास बनाउन सफल नगर प्रमुख सुरेन्द्र विष्टलाई नगर वासिन्दाले विकासप्रेमी नेताका रुपमा सम्झिने छन् । घाँडीघाँचमा गतिलो बाटो समेत कल्पना नगरिएको अवस्थामा स्थानीय तह निर्वाचनपछि निर्माणपछि गरिएको जैविक मार्ग नगर विकासको मेरुदण्डको रुपमा स्थापित हुने अपेक्षा गरिएको छ । यो मार्गमा पहिलो पटक गरिएको म्याराथनले खेलकूद प्रवद्र्धनमा नयाँ सम्भवना जागार गरी नयाँ उत्साह थपि दिएको छ । नगर गौरबको योजना जैविक मार्गमा म्याराथनलाई निरन्तरता दिएर खेल पर्यटनबाट समृद्ध नगर बनाउन सकिने सम्भावना सत्यमा बदलिएको छ ।

एक हजार तीन सय भन्दा बढी खेलाडी, म्याराथन धावक मानन्धर, हजारौ स्थानीय खुला मञ्च, बैजनाथ मावि नयाँ तिलकपुरबाट एकसाथ प्रतियोगितामा सहभागी हुँदा पुस १५ गते भीमदत्त नगरपालिका उत्साहित भएको थियो । विकासबाट सधैं वञ्चित घाँडीघाँचका स्थानीयको जैविक मार्गमा देखिएको उपस्थितिले म्याराथन माहौल लोभलाग्दो बन्यो ।

मार्गका दुबै किनारमा सहभागीहरुलाई स्वागत गर्न लामबद्ध उभिएका स्थानीय हुन् वा साँस्कृतिक झाँकी देखाउन आतुर कलाकार, प्रतिस्पर्धी, मार्च सहभागी सबैको उपस्थितिले म्याराथन मार्चको महिला अविस्मरणीय रहन पुग्यो । म्याराथन उद्घाटनदेखि समापनसम्म भव्य म्याराथन घाँडीघाँच क्षेत्रका लागि मात्रै होइन्, सुदूरपश्चिम प्रदेशको विकासमा सहयोगी हुने निश्चित छ ।

भीमदत्तमा म्याराथन मार्चमा भीमदत्त समृद्धिको आधार, पर्यटन, कृषि, शिक्षा र व्यापार भन्ने नारा अघि सारिएको छ । भीमदत्तका नगर प्रमुख विष्टले नगर समृद्धिका लागि यो नारा अघि सारेका छन् । समृद्ध नगर बनाउने नारालाई सार्थक बनाउन पछिल्लो कडीका रुपमा म्याराथन मार्च गरिएको हो ।

स्थानीय तह निर्वाचनपछि नगर समृद्धिको नारा बोकेर नगर सभाबाट नीति तथा कार्यक्रम पारित गरिएका छन् । नगर समृद्धिका लागि पर्यटनलाई प्रमुख आधार मानेर पर्यटन नगरी बनाउने लक्ष्य सहित कार्यक्रम अघि सारिएका छन् ।  अहिले पर्यटनलाई खेलकूदसित जोडेर खेल पर्यटनका रुपमा विकास गर्न म्याराथन गरिएको छ । आगामी दिनमा जैविक मार्गमा साइक्लिनिङ्ग सहितका प्रतियोगिता गरिने लक्ष्य राखिएको छ । जैविक मार्ग घाँडीघाँच क्षेत्रका वासिन्दाको वर्षौदेखि विकासको चाहनालाई पूर्ति गर्ने अस्त्रका रुपमा देखिएको छ । त्यसका लागि अहिलेदेखि पर्यटन प्रवद्र्धनका कार्यक्रम अघि सारिएका छन् ।

बाराुकण्डामा धार्मिक साँस्कृतिक महत्वका १२ कुण्डमा जल पुनःभरण गरी पर्यटन आकर्षणका केन्द्र भएका छन् । रौटेला मन्दिर संरक्षण र जैविक मार्गको उद्गम स्थलमा भीमदत्त नगरपालिकाका १९ वडाको प्रतिनिधित्व हुने गरी त्रिशुल राख्ने योजना छ । भारतको पूर्णा्गिरी मार्ताका दर्शनार्थीलाई बाराकुण्डासम्म पुगाउने गरी कुण्डमा जल पुनःभरण गरिएको छ ।

बाराकुण्डा र विष्णु मन्दिर धाम आउने पर्यटकहरुका लागि पिकनिक स्पट बनाउन स्थान छनौट गरिएको छ । भम्केनी धाम नेपाल आमाको मूर्ति बनाउन नगरपालिकाले एक करोड सहयोगको प्रतिवद्धता गरिएको छ । नेपालका ऐतिहासिक प्रथम जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले स्थापना गरेको भम्केनी धाम पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरिएको छ । भीमदत्त नगरपालिकाले भम्केनी धामबाट कालिताल झरना, ताराकोट र झिलमिला ताल पुग्न पदमार्ग निर्माणको योजना अघि सारिएको छ । दैनिक तीन पटक रङ्ग फेर्ने झिलमिला पर्यटन आकर्षणको गन्तव्यका रुपमा परिचित छ । ताराकोटमा भू टावर बनाउन र तालमा पूर्वाधार निर्माणका लागि यस वर्ष बजेट विनियोजन गरिएको छ ।

ताराकोटसम्म पर्यटकलाई गाडीमा पुगाउने र त्यहाँबाट पदमार्ग भएर तालसम्म पुगाउने योजना छ । अहिले मटेनाबाट ताराकोटसम्म पक्की सडक निर्माण कार्य भईरहेको छ ।ब्रह्मदेबमा सिद्धनाथ बाबाको दर्शन गरी निस्केपछि जैविक मार्गले जोडिएका धार्मिक पर्यटकीय स्थल पर्यटकका नजरमा पर्नेमा दुई मत छैन । ट्रि गार्डन सहितको जैविक मार्गमा हरियालीमा रमाउँदै पर्यटकले पर्यटनको रस्वादन गर्ने छन् ।

भीनपा वडा नं. ३ तिलकपुरको मिनी लिङ्गा होस कि मटेनाको गहुँताणीबाट साँझपख देखिने दक्षिणको रमाइलो दृष्य पर्यटक तान्नका लागि वर्षौदेखि तैनाथ छन् । जैविक मार्गको जिरो पोइन्टमा पुगेपछि पर्यटकलाई मुसेट्टीको साइलेन्ट महाकाली नदीमा पुगाउने नगर प्रमुख विष्टको चाहना छ । भारतको पूर्णा्गिरी वारी पर्ने महाकाली नदीको यो दृष्य अनौठो छ । बर्खामा सुसेरा हाल्दै आउने महाकाली नदी सय क्षेत्रमा मौन बग्छ । पूर्णा्गिरी माता र सिद्धनाथ बाबाबीच आपशी संवादलाई डिस्र्टब हुन नदिन काली नदी मौन बसेको जनश्रुति छ । त्यो दृष्य अवलोकनका लागि पूर्वाधार निर्माण कार्यलाई प्राथमिकता दिइएको छ ।

खल्ला, मुसेट्टी र टुँडीखेललाई पर्यटकीय क्षेत्र बनाउने लक्ष्य लिएर काम थालिएको छ । ब्रह्मदेब राजाको पालामा बसेको यो वस्ती किसान आन्दोलनका नेता भीमदत्त पन्तको विद्रोहको भूमिका रुपमा चिनिन्छ । कुनै बेला सुदूरपश्चिम प्रदेशलाई दैनिक उपभोग्य सामाग्री आपूर्ति गर्ने महाकाली नदी किनारको मण्डीका भग्नावेश छन् । ५२ ढोकाका नामले चिनिने यो क्षेत्र संरक्षणका लागि तारबार गरिएको छ । चुरे फेदमा पर्ने रौटेलादेखि ब्रह्मदेबसम्म धार्मिक पर्यटकीय स्थल पर्यटक स्वागतका लागि तयारी अवस्थामा छन् ।

जैविक धार्मिक पर्यटन मार्ग अब पर्यटकलाई स्वागतका लागि ती स्थलमा लैजान सञ्चालनतिर लम्किने चरणमा छ । उत्तरका सबै पर्यटकीय स्थल जोडिएपछि दक्षिणको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र झोलुङ्गे पुल जोड्ने गरी शुक्लाफाँटा पर्यटन मार्ग निर्माण थालिएको छ । शुक्लाफाँटा पर्यटकहरुका लागि खुला विश्वविद्यालय हो । जहाँ विशाल बाह्रसिंगाको झुण्ड मात्रै होइन, बाघ र गैडा देख्न सकिन्छ । जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटाको पर्यटन प्रवद्र्धनका लागि गत वर्ष कार्यपालिका बैठक शुक्लाफाँटा मैदानमा गरिएको थियो ।

शुक्लाफाँटा र झोलुङ्गे पुललाई जोडेर दक्षिणतिर अर्को पर्यटकीय हब बनाउने योजना छ । त्यसका लागि झोलुङ्गे पुल नजिक पिकनिक स्पट र उद्यान बनाउने चालु आर्थिक वर्षमा बजेट विनियोजन गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी सन् २०१९ लाई पर्यटन र पूर्वाधार वर्ष घोषणा गरिएको छ । शुक्लाफाँटा सहित पर्यटकीय स्थलहरुमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने गरी पूर्वाधार र पर्यटन वर्ष घोषणा गरिएको हो । यसका लागि पर्यटन प्रवद्र्धनका लागि नीति तथा कार्यक्रम पारित गरिएका छन् ।

पर्यटनबाट नगर समृद्धि बनाउने लक्ष्यलाई सार्थक बनाउन चुनौतीका चाङ पनि थुप्रै छन् । पर्यटकीय स्थलसम्म पुग्ने बाटोघाटो निर्माण, प्रचारप्रसार, पर्यटकमैत्री बोली व्यवहार, सुरक्षा, आवाश लगायतको व्यवस्था अनिवार्य चाहिएको छ । सीमा नाकाको अध्यागमन कार्यालयदेखि पर्यटकलाई भीमदत्तका पर्यटकीय स्थलसम्म लैजान प्रेरित गर्नु पर्ने टड्कारो आवश्यकता छ ।

अहिले गड्डचौकी नाका भएर आउने पर्यटकमध्ये केही पर्यटक बाहेक अरु सबै बाहिर जिल्ला जाने गरेका छन् । पथ प्रदर्शक( गाइड) र प्रचारप्रसार गर्न सकिएमा विदेशी पर्यटकलाई तान्न सकिन्छ । आधुनिक सूचना प्रविधिको प्रयोग र देश विदेशका पर्यटन सम्बन्धी संघसंस्था र ट्राभल एजेन्सीसित सहकार्य र समन्वय नगरी पर्यटन प्रवद्र्धन हुनै सक्दैन । भीमदत्तले पूर्वाधार र प्रचार वर्ष घोषणा गरी पर्यटन प्रवद्र्धनका असहजता हटाउने पहल गरेको छ । यो पहल सार्थक भएर केही हदसम्म सहयोगी हुने विश्वास लिइएको छ ।

अन्त्यमा म्याराथन मार्च म्याराथन दौड सहित हजारौ वासिन्दा सहभागी भएर गरिएको भीमदत्त नगरपालिकाका लागि ऐतिहासिक प्रतियोगिता हो । खेललाई पर्यटनसित जोडेर खेल पर्यटन प्रवद्र्धनको सम्भावनालाई म्याराथन सहभागिताले उजागार गरि दिएको छ । म्याराथन धावक मानन्धरको उपस्थितिले यो प्रतियोगिताको गरिमालाई झनै बढाएर भीमदत्तको भावी पुस्तालाई खेलमा आकर्षित मात्रै गरेको छैन, खेल पर्यटनबाट भीमदत्तको समृद्धि सम्भव छ भन्ने सन्देश दिएको छ ।

पहिलो प्रतियोगिताका सिकाईलाई परिस्कृत गर्दै आगामी दिनमा चुस्त दुरुस्त व्यवस्थापनका साथ प्रतियोगितालाई भव्य बनाउनु नगर प्रमुख विष्टले प्रतिवद्धता सार्वजनिक गरेका छन् । यसले प्रतियोगिता निरन्तर रुपमा चल्ने निश्चित भएकाले पुस १५ लाई म्याराथन मार्च दिवसका रुपमा मनाउनु पर्ने देखिन्छ ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।