कञ्चनपुर : दशगजा क्षेत्रमा भारतीय एसएसबीले गोली चलायो

label सुदूर खबर संवाददाता query_builder January, 11 2019

कञ्चनपुर, पुस २७ । कञ्चनपुरको महाकाली नगरपालिका–१० को कुत्तियाकभर नजिक नेपाल–भारत सीमा क्षेत्र दशगजामा आपसी विवादमा भारतीय एसएसबीका जवानहरूले गोली चलाएका छन् ।

मदिरा सेवनपछि एसएसवीका जवानहरूबीच विवाद हुँदा बिहीवार साँझ सीमा स्तम्भ नं २१ नजिक ११ राउण्ड गोली चलाएको स्थानीय बासिन्दाले बताएका छन् । गोली चलाउने दुवै जवानलाई भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएको बताइएको छ ।

लगातार गोलीको आवाज आउन थालेपछि सशस्त्र प्रहरी बल विओपी दोधारा चाँदनी र इलाका प्रहरी कार्यालय दोधाराको टोली सीमा क्षेत्र पुगेको थियो । सीमा क्षेत्रमा गोली चलेपछि सशस्त्र प्रहरी र इप्रका जवानले सुरक्षा दिइरहेका छन् ।

‘सीमा क्षेत्रमै एसएबीका जवानबीच विवाद हुँदा गोली चलाइएको बुझिएको छ’, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले भने, ’भारतीय क्षेत्रमै हो । नेपालतर्फ केही भएको छैन।’ नेपालतर्फ कुनै किसिमको त्रासको वातावरण नभएको उनले बताए ।

एसएसबीका जवानले चलाएको गोलीका ६ वटा खोका स्थानीय टेक बहादुर सुनारको आँगनमा फेला परेका छन् । दशगजा क्षेत्रमा गोली चल्न थालेपछि स्थानीय बासिन्दाको भागाभाग समेत भएको थियो ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।