पृथ्वीनारायण शाह यस कारण ‘राष्ट्रनिर्माता’

label सुदूर खबर संवाददाता query_builder January, 11 2019

एकीकृत नेपाल राष्ट्रको निर्माण ऐतिहासिक तथ्य हो भने यसका निर्माता वा सूत्रधार राजा पृथ्वीनारायण शाह नै हुन् भन्ने पनि त्यत्तिकै सत्य हो ।

त्यो सामन्तवादी सोचको समय थियो । कानुनको शासन थिएन । मानवीय संवेदनाका आधारमा शासन चल्थ्यो । मौलिक अधिकारको अवधारणाको विकास भइसकेको थिएन । शिक्षा प्रदान गर्ने कुनै संगठित संरचना थिएन । लगभग कबिला अवस्थामा समाज चलेको थियो । मान्छेले जाने अनुसार धर्मकर्म र सामुदायिक शिष्टाचारका आधारमा राम्रो-नराम्रो कुरालाई परिभाषित गर्थे । समाजशास्त्र भन्ने कुनै अवधारणा नै थिएन । प्रजातन्त्रको सोच थियो होला तर संरचनाहरूको विकास भइसकेको थिएन । राजनीतिक रूपमा त्यो अत्यन्त अस्थिर समय थियो । उत्तर र दक्षिणतर्फका दुवै शासकसँग जुध्न सक्ने क्षमता हिमवत् खण्डमा थिएन । स्वाभिमानको कमी थियो । दुवैतर्फका छिमेकी राज्य विस्तारमा लागेका थिए । संसारमा साम्राज्यवाद सुरु भइसकेको थियो । यस्तो अवस्थामा हिमवत् खण्डको सुरक्षा एउटा चुनौतीपूर्ण प्रश्न थियो । आज पृथ्वीनारायण शाहलाई अध्ययन गर्न बस्दा त्यस बेलाको मापदण्डले हेर्नुपर्छ ।

नेपाललाई संसारको प्राचीनतम मुलुकमध्ये एक भएको गौरव छ । नेपाल उपत्यका ऐतिहासिक कालदेखि नै हिमवत् खण्डमा अलग सांस्कृतिक पहिचानयुक्त रहँदै आएको छ । इसापछिको तेस्रो शताब्दीसँगै लिखित इतिहास पाइएदेखि लगातार काठमाडौँ समग्र हिमवत् खण्डको सांस्कृतिक राजधानी रहँदै आएको हो । यहाँका अति प्रभावशाली लिच्छवि राजाहरूको पतनपछि क्रमशः विभिन्न सानाठूला राज्य बन्दै-भत्कँदै गए । गोरखाका युवा राजा पृथ्वीनारायण शाहले अठारौँ शताब्दीको मध्यतिर बाइसी-चौबीसी राज्य-रजौटाहरूलाई राजनीतिक रूपमा समेत एकीकरण गरे ।

उनले काठमाडौँलाई राजनीतिक राजधानी बनाए, यसको इज्जत-आमद, वैभव र उच्चतम् मर्यादालाई आत्मसात् गर्दै । एकीकरणको भूमिका निर्वाह गर्ने गोरखा राज्य नै नेपाल राज्यमा विलीन भयो । विजेता राज्य पराजित राज्यमा विलीन भएको उदाहरण संसारका एकीकरण इतिहासमा विरलै भेटिन्छ । तर, यही विन्दुबाट हजारौँ वर्षदेखि सँगसँगै सुखदुःख गर्दै बाँचेका तथा कुनै सिमानाले छेकबार नगरेका विभिन्न क्षेत्र, जाति, धर्म, संस्कृति एउटा नयाँ रूपमा संगठित र एकाकार भए । एकीकृत राष्ट्र निर्माणको प्रक्रिया सुरु भयो ।

यसकारण भन्न सकिन्छ, एकीकृत नेपाल राष्ट्रको निर्माण ऐतिहासिक तथ्य हो भने यसका निर्माता वा सूत्रधार राजा पृथ्वीनारायण शाह नै हुन् भन्ने पनि त्यत्तिकै सत्य हो । नेपालको इतिहासमा पृथ्वीनारायणको त्यति नै महत्त्व छ, जति फ्रान्सको इतिहासमा नेपो लियन बोनापार्ट (सन् १७६९-१८२९), जर्मनीको इतिहासमा अट्टोभान विस्मार्क (सन् १८१५-९८) र इटलीको इतिहासमा जुसेप्प गरिबाल्डी (सन् १८०७-८२) वा प्रधानमन्त्री काभोर (सन् १८१०-६१)को छ ।

यी सबैका राष्ट्रिय चुनौती र परिवेश फरक थिए । विस्मार्कले जर्मनीका भुरेटाकुरे राज्यहरू तथा पर्सियालाई मिलाएर एउटा ठूलो जर्मन राज्यको एकीकरण गरे । उनले त्यो नयाँ मुलुक रगत र इस्पातले बनेको हो भनेका थिए । जर्नेल नेपोलियन बोनापार्टले क्रान्तिको माध्यमबाट फ्रान्सलाई विश्वस्तरीय साम्राज्यमा रूपान्तरण गरे । जर्नेल गरिबाल्डी र प्रधानमन्त्री काभोरको क्षमताका कारण इटली एउटा समृद्धशाली एकीकृत मुलुकका रूपमा निर्माण हुन पुग्यो । यी सबै इतिहासका लौहपुरुष मानिन्छन् ।

यी सबैभन्दा पुराना थिए, पृथ्वीनारायण शाह । तैपनि, उनी बढी आधुनिक तथा बहुआयामिक र राजनीतिक रूपमा बढी परिपक्व देखिन्छन् । उनले नेपाल एकीकरण मात्र गरेनन् । नेपालको स्थापनाकालीन सिद्धान्तहरू पनि कायम गरे । यी सिद्धान्त नेपालका सम्बन्धमा आज पनि अकाट्य सत्यका रूपमा पढिन्छन् । एकताका सूत्रका रूपमा ऐतिहासिक कालमा यसको ठूलो महत्त्व थियो । आज पनि तिनको महत्त्व घटेको छैन ।

महत्त्वाकांक्षी र रणनीतिक

संसारमा कुनै पनि व्यक्ति जात वा नस्लका आधारमा राष्ट्रनिर्माता हुन सक्दैन । कुनै विशेष जात, धर्म, वर्ण, लिंग र क्षेत्रलाई राष्ट्राधार बनाउने व्यक्ति लामो समयसम्म राष्ट्रनिर्माता हुन वा टिकिरहन गाह्रो हुन्छ । पृथ्वीनारायण खस वा मगर कुन मूलका थिए, ठोकुवा गर्न सकिने स्थिति छैन । तथापि, उनले आफूलाई मगरातको राजा मै हुँ भनेका छन् । सुरथसिं राना आफ्नो मामाघरको हजुरबुबा भएको उनले उल्लेख गरेका छन् । त्यस्तै उनले मकवानपुरका दिग्बन्द सेनकी बहिनी बिहे गरेको इतिहासमा उल्लेख छ । उनको दरबारमा पाण्डे (बाहुन) र बस्नेत (क्षेत्री)को बिहेबारी चल्थ्यो । यी सबै पृष्ठभूमिबाट के देखिन्छ भने या त उनी मगर कुलका थिए, या मगर र खस राजपरिवारबीच राम्रै बिहेबारी चलेको अवस्था थियो । जात जे भए पनि उनी पढेलेखेका थिएनन् । देश-देशान्तर घुमेका पनि होइनन् । ससुराली मकवानपुरबाट र्फकंदा चन्द्रागिरिको डाँडोबाट उनले पहिलोपटक काठमाडौँका तीन सहर देखेका हुन् ।

उनको समयमा गोरखा आफैँमा धनी वा वैभवशाली राज्य पनि थिएन । पृथ्वीनारायणका बाबु नरभूपाल शाह विशेष योग्यता भएका मान्छे थिएनन् । तर, करिब २० वर्षकै उमेरमा राजा भएका पृथ्वीनारायण महत्त्वाकांक्षी र होनहार दुवै थिए । उनमा गोरखा राज्यको विस्तार र वैभवशाली एवं सम्पन्न जनताको परिकल्पना पनि थियो । उनलाई राजा राम शाह, भूपतिन्द्र मल्ल वा महिन्द्र मल्लजस्तो न्यायप्रिय राजा बन्ने रहर थियो । ठूलो देशको अधिपति हुनका लागि हिमवत् खण्डको एकीकरण आवश्यक थियो भने परम्परागत रूपमा आर्थिक समृद्धिका लागि भोटसँग व्यापार गर्ने हिमाली नाकाहरू तथा दक्षिणतर्फको मुगलानसम्मको पहुँच नभई सम्भव थिएन । यो परिकल्पनाले पृथ्वीनारायणलाई राज्य विस्तार एवं एकीकरणतर्फ उन्मुख गरायो ।

नेपाल एकीकरणको प्रयास गर्ने पृथ्वीनारायण पहिलोे व्यक्ति थिएनन् । मानदेवलगायतका लिच्छविकालीन राजाहरू सम्भवतः सबैभन्दा प्रभावशाली थिए । अहिलेको नेपालभन्दा लगभग ठूलो नेपालमा उनीहरूले शासन गरेको मानिन्छ । तर, नेपाल सोही रूपमा रहिरहन सकेन । वास्तवमा अठारौँ शताब्दीका राजा अरमुडी, बाह्रौँ शताब्दीका राजा नागराज, सत्रौँ शताब्दीका राजा प्रताप मल्ल र राम शाहले पनि यस हिमवत् खण्डमा एकीकरणको भगीरथ प्रयत्न गरेका हुन् ।

पृथ्वीनारायण र अरूका बीचको मुख्य फरक के हो भने उनी ती प्रतापी राजाहरूभन्दा बढी महत्त्वाकांक्षी र रणनीतिक थिए । यो क्षमताले उनलाई राज्य विजेता मात्र नभई समग्र नेपालको एकीकरणकर्ता बनायो । यो अवसर प्रताप मल्लजस्ता सम्पन्न नेपालका राजा र अरमुडी वा नागराजजस्ता कश्मीरसम्म शासन गर्ने राजालाई प्राप्त भएन । किनभने, एकीकरण गर्न चाहिने सामरिक क्षमता र एकीकृत देशलाई धान्न सक्ने सामाजिक, आर्थिक, राजनीतिक र प्रशासकीय हुति सबैमा उत्तिकै थिएन । पृथ्वीनारायणले यो पुरुषार्थ गरेरै देखाएका हुन् ।

विश्व परिस्थिति

एकीकरण राजा पृथ्वीनारायणको महत्त्वाकांक्षा मात्र थिएन । यसका लागि तत्कालीन अवस्थाका वस्तुगत परिस्थितिहरू पनि विद्यमान थिए । उनी जन्मनुअघि रोबर्ट वालपोल बेलायतका प्रधानमन्त्री भएका थिए । बेलायतको बढ्दो सैन्यशक्ति त्रासको विषय भइसकेको थियो । रुसका राजा (जार) पिटर द ग्रेटले राज्यमा ठूलो भूमिका पाएको अर्थोडक्स चर्चको सुधार गर्न थालेका थिए । तथापि, रुस र पर्सियाबीच युद्ध सुरु भइसकेको थियो । अफगानहरूले त्यस बेलाको शक्तिशाली राष्ट्र इरानलाई जितिसकेका थिए । चीनका कांशी बादशाह भर्खर बितेका थिए ।

पृथ्वीनारायणको जन्मपछि नै पर्सियालाई कन्स्ट्यान्टटिनोपोल सन्धि अन्तर्गत रुस र अटोमान साम्राज्यले बाँडीचुँडी खाएका थिए । अंग्रेज र स्पेनीहरूबीचको युद्ध त्यसपछिको अर्को ठूलो घटना थियो । पृथ्वीनारायण शाह किशोर उमेरमा टेक्दा नटेक्दै रुस र टर्कीबीच चारवर्षे घमासान युद्ध सुरु भइसकेको थियो । चीनका प्रभावशाली सिङ लङ बादशाहको राज्य विस्तारको कार्यक्रम त्यत्तिकै दह्रो थियो ।

यता हिन्दुस्थानमा मुगलहरूको बिजोग सुरु भइसकेको थियो । जो टुक्राटुक्रा हुँदै थिए । पर्सियाका नादिर शाहको आक्रमणबाट मोहम्मद शाह निकै पीडित थिए । युरोपमा प्रोटेस्टेन्ट र क्याथोलिकबीच पटक-पटक युद्ध भएझैँ यस क्षेत्रमा मुस्लिम र हिन्दु राज्यहरू भिड्न सुरु गरिसकेका थिए । चतुर बेलायती तथा फ्रान्सेलीहरू हिन्दुस्थानमाथि आधिपत्य स्थापित गर्ने तयारीमा जुटिसकेका थिए । यो खेलमा बेलायती महाचतुर देखिए । दिव्योपदेशमा टर्की, चीन र हिन्दुस्थानका बारेमा सावधान गर्नुपर्ने कारण सम्भवतः तिनै थिए ।

राष्ट्र निर्माणका आधार

पृथ्वीनारायण नयाँ नेपाली मुलुकका एकीकरणकर्ता मात्र होइनन् । आफ्नो जिन्दगीको अन्तिम लडाइँ उनले सन् १७७३ मा लडेको देखिन्छ । करिब ४६ वर्षको उमेरमा काठमाडौँमा राजधानी सारेपछि पृथ्वीनारायणमा देखिएको राजनीतिक कौशलले उनको परिपक्वता दर्साउँछ । उनले टिपाएको ‘दिव्योपदेश’ र उनका बारेमा लेखिएका ग्रन्थहरूले यसबारे प्रकाश पार्छन् । उनले पुनः एकीकृत नेपाललाई पाको राजनेताका रूपमा चार जात छत्तीस वर्णको साझा फूलबारीका रूपमा देख्न चाहे ।

हिमवत् खण्डको असंलग्न परराष्ट्र नीतिको सूत्रधार उनै भए । उपनिवेशवादविरुद्ध राष्ट्रिय सुरक्षाको अवधारणा उनीमार्फत नै आयो । एकीकरणमा परेका अधिकांश भुरेटाकुरे राज्यलाई उनले स्वशासन दिए । आफ्नो र अन्य क्षेत्रका फौजलाई नेपाली फौजमा परिणत गरे । राष्ट्रिय सेनाको निर्माण एउटा ठूलो प्रयोग थियो । आन्तरिक पुँजी निर्माणका लागि उद्योग र वाणिज्य क्षेत्रमा उनीद्वारा प्रतिपादित नीतिहरू आज पनि त्यत्तिकै महत्त्वपूर्ण छन् । नवएकीकृत देशको सामूहिक क्षमतामै त्यसपछिका उत्तर तथा दक्षिण दुवैतर्फ नेपालले पटकपटक लडाइँ लडेको थियो । यी लडाइँले नै नेपाललाई सम्पूर्ण रूपमा एक ढिक्का पारेको थियो । नेपाली पहिचान र नेपाली राष्ट्रवादको शिल्पकारिता पृथ्वीनारायण शाहले नै सुरु गरेका हुन्, जसमा अरूको पनि पर्याप्त लगानी छ । तथापि, सूत्रधार पृथ्वीनारायण नै हुन् भन्ने कुरामा विवाद छैन ।

पृथ्वीनारायणले निर्माण गरेको एकीकृत नेपाल उनको जमाना अनुसार हेर्दा सबैभन्दा टिकाउ भएको मान्नुपर्छ । उनको जमानामा यस क्षेत्रमा विभिन्न लडाइँ भए । तर, एकीकरणको प्रयास भएन । चिनियाँ प्रयोगलाई अलग गर्ने हो भने उनीपछि बनेको यस क्षेत्रको वैभावशाली सिख साम्राज्य ४८ वर्ष पनि टिक्न सकेन । यसका संस्थापक रञ्जित सिंह बितेपछि यो मूलतः सकियो । यसै बेला छत्रपति शिवाजीले मराठा साम्राज्य पनि स्थापित गरेका थिए, जसलाई हिन्दु राज्य भनिन्थ्यो । यो सन् १६७४ देखि १८१८ सम्म मात्र टिक्यो ।

सन् १८५८ देखि १९४७ का बीच उपनिवेशउन्मुख बेलायतीहरूले यस क्षेत्रका धेरैजसो राज्यलाई आफ्नो नियन्त्रणमा लिए । उपनिवेश नै नभने पनि करिब ५ सय ६२ वटा बाइसी-चौबीसी प्रकारका राज्य बेलायत सरकारलाई राजनीतिक-आर्थिक कूत बुझाउँथे । यो परिस्थितिलाई हेर्ने हो भने पृथ्वीनारायणले निर्माण गरेको नेपालले आफ्नो स्वतन्त्रता मात्र कायम राखेन, यसले बेलायती साम्राज्य र शक्तिशाली चिनियाँहरूसँग पनि जटिल कूटनीति निर्वाह गरी निरन्तर गन्तव्य पहिचान गर्‍यो ।

विस्तारवाद, जातीयता र धर्म

जतिसुकै राम्रा व्यक्तिका पनि कमीकमजोरी हुन्छन् । व्यक्तिको क्षमता जति बढी हुन्छ, उसका विरोधी पनि त्यति नै बढ्छन् । कतिपयले पृथ्वीनारायणलाई विस्तारवादी भनेका छन् भने कतिपयले हिन्दु धर्मलाई जनतामा लाद्ने शासक । त्यस्तै जातीय शासनलाई उनले भताभुंग पारेको पनि कतिपयको आरोप छ । उनको पालादेखि नै विभिन्न जनजातिले शासन गुमाएको पनि भनिएको छ । एकीकरणको लडाइँ बर्बरतापूर्ण थियो भन्ने मान्यता पनि व्यक्त गरेको देखिन्छ । प्रकाशित सामग्रीका आधारमा हेर्दा पृथ्वीनारायणले नेपाललाई ‘असली हिन्दुस्थान’ बनाउन खोजेको आरोप लगाइएको छ । यी सबै आरोपका बारे विभिन्न मान्छेका विभिन्न दृष्टिकोण हुन सक्छन् । तथापि, राज्य जित्ने अभिलाषा नभएको भए एकीकरणको परिप्रेक्ष्य आउने थिएन भन्न सकिन्छ ।

उनले नेपाललाई असली हिन्दुस्थान बनाउन खोजे भन्ने आरोपको आधार देखिँदैन । मुगल वा अंग्रेजबाट यो बिटुलिएको छैन भन्ने प्रसंगमा उनले ‘असली हिन्दुस्थान रहेछ’ भनेका छन् । उनले देखेबुझेसम्मको वस्तुस्थितिका आधारमा निकालिएको निष्कर्ष थियो त्यो । त्यस्तै, उनको समयमा कतै जातीय राज्य वा शासन भएको इतिहासले देखाउँदैन । यस अर्थमा उनले कसैसँग जातीय लडाइँ लडेका थिएनन् । जस्तो: एकीकरणको वृत्तान्तमा गोर्खालीहरूले राजा जयप्रकाश मल्लको खस एवं मगर सेनासँग समेत लडाइँ लडेको पढ्न सकिन्छ ।

आस्था र विश्वासका कुरा राष्ट्र निर्माणमा धेरै महत्त्वपूर्ण हुन्छन् । विभिन्न मिथक, मूर्ति, प्रतिमा र प्रतीकलाई पनि एकताको आधारका रूपमा स्थापित गरिएका हुन्छन् । प्रकृतिको अवधारणालाई नियति र ईश्वरको अवधारणालाई मिथक भनिएकै छ । तर, त्यसबिना साधारण मान्छेको जीवनको परिकल्पना सम्भव हुँदैन । आममान्छेले बुझ्ने ससाना ऐतिहासिक तथ्य, वीरता, लडाइँ र शान्तिका गीतहरू आफ्नो भाषा, धर्म-संस्कृति, खोलानाला, जंगल, तरुण र तरुणीको सम्बन्ध, मेलापात, दुःख एवं विस्मात्का प्रसंगले मान्छे, समाज अनि राष्ट्रलाई जोडेका हुन्छन् ।

कतिपय कुरा असत्य पनि होलान्, तथापि यी समग्र परिस्थितिले देश र राष्ट्रियताको भावना जागृत गर्ने हो । प्रजातन्त्र, समानता र मौलिक अधिकार एवं शासनमा सहभागिताका कारण बन्ने राष्ट्रवाद त आजको सिर्जना हो । इतिहासलाई यसका आधारमा मूल्यांकन गर्न खोज्नु हुँदैन । राज्यहरू सेनाले टिक्लान्, नटिक्लान् तर यी साधारण सत्यका आधारमा ठूल्ठूला साम्राज्य बनेका पनि छन्, ढलेका पनि छन् । पृथ्वीनारायणका बारेमा नेपालीले गौरवान्वित हुनुपर्छ, नेपाल टिकेको मात्र छैन, आवश्यक पर्दा यसले शत्रुलाई ढालेको पनि छ ।

पृथ्वीनारायणको जन्म नभएको भए आजको नेपाल सम्भव हुन्थेन । एकीकरण आजको अकाट्य र चुनौती दिन नसकिने यथार्थ हो । यो नभएको भए नेपाल राज्य सम्भवतः कथा भइसकेको हुने थियो । प्रजातन्त्र र संविधानवादले मुलुकलाई बलियो बनाउने आधार उनले छाडेर गए । आजका नेपाली आजको आवश्यकताबमोजिम देशको शासन व्यवस्था, राजनीतिक प्रणाली तथा राज्य व्यवस्थापनको कुरो गर्न सक्षम छन् । अतः उनको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउनु इतिहासप्रतिको इमानदारी मात्र होइन, शान्त, सुन्दर र समृद्ध नेपालको निर्माणका लागि एउटा बलियो पूर्वाधार पनि हो । उनले निर्माण गरेको राज्य गौरवको विषय हुने तर निर्माताचाहिँ अभिशाप हुने भन्ने हुनै सक्दैन ।

नेपाल साप्ताहिकमा २७ पुस २०७१ मा प्रकाशित विपिन अधिकारीको आलेख

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।