शैलेश्वरी मैत्रीपूर्ण भलिबल प्रतियोगिताको उपाधी डोटी जिल्ला भलिबल टीमलाई

label सुदूरखबर संवाददाता query_builder January, 12 2019

झलक पाली/सुदूरखबर।
डोटी, पुस २८ । डोटीको सिलगढीमा अवस्थित नेपाली सेनाको रुद्रध्वज गणले आयोजना गरेको शैलेश्वरी मैत्रीपूर्ण भलिबल प्रतियोगिताको उपाधी डोटी जिल्ला भलिबल टीमले हात पारेको छ ।

बेस्ट अफ फाइभका आधारमा खेलाइएको खेलमा राष्ट्र सेवक कर्मचारी टिमलाई लगातार तीन सेटसम्म हराउँदै डोटी जिल्ला भलिबल टीमले नगद २५ हजार र प्रमाण पत्र हात पारेको छ ।

राष्ट्र सेवक कर्मचारी टिमले नगद १५ हजार र प्रमाण पत्र मात्रै हात पारेको छ । दुइ वटा मात्रै टीमको सहभागिता रहेको प्रतियोगिता निकै उत्साहजनक भए पनि राष्ट्र सेवक कर्मचारी टिमले तीन सेट खेल्दासम्म एउटा सेट पनि जित्न नपाउँदै खेल सम्पन्न भयो ।

पहिलो सेटमा २५–२३, दोश्रो सेटमा २५–२० र तेश्रो सेटमा २६–२४ को अन्तर रहेको डोटी जिल्ला भलिबल टीमका कोच नरेश मलासीले जानकारी दिए ।

दिपायल सिलगढी नगरपालिका र जिल्ला खेलकुद विकास समितिको संयोजनमा आयोजित भलिबल प्रतियोगिताको दिपायल सिलगढी नगरपालिका प्रमूख मञ्जु मलासीले उद्घाटन गरेकी थिइन् ।

पद्यम पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न भलिबल प्रतियोगिता राष्ट्रिय रेफ्री द्वय राजबहादुर खड्का र दिपेन्द्रनारायण श्रेष्ठले खेलाएका थिए ।

तपाईंको प्रतिक्रिया दिनुस्